पाकिस्तानले टी-२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिक्रिया दिएको छ ।
आइसीसीले आफु पाकिस्तान क्रिकेट बोर्डको औपचारिक जानकारीको प्रतिक्षामा रहेको बताएको छ । गएराती विज्ञप्ति जारी गर्दै आईसीसीले बोर्डबाट आधिकारिक सूचनाको पर्खाइमा रहेको बताएको हो ।
साथै आइसीसीले पाकिस्तानको निर्णय कुनै पनि विश्वव्यापी खेलकुद कार्यक्रमको भावना विपरीत रहेको बताउदै सबै योग्य टोलीहरूले निर्धारित तालिका अनुसार समान सर्तहरूमा विश्वस्तरीय प्रतियोगितामा भाग लिनुपर्ने बताएको छ ।
आईसीसीले भनेको छ- ‘आईसीसी प्रतियोगिताहरू खेलकुद भावना, प्रतिस्पर्धा, स्थिरता र निष्पक्षतामा आधारित हुन्छन् । त्यसैले, छनौट सहभागिताले प्रतियोगिताको पवित्रता र भावनालाई कमजोर बनाउँछ । राष्ट्रिय नीतिको मामिलामा संस्थाले सरकारको भूमिकाको सम्मान गरे पनि, परिषद्को विश्वास छ, यो निर्णय न त विश्वव्यापी क्रिकेटको सर्वोत्तम हितमा छ न त विश्वभरका क्रिकेट प्रशंसकहरूको, विशेष गरी पाकिस्तानका लाखौं प्रशंसकहरूको हितमा छ ।’
आइसीसीले पाकिस्तान क्रिकेट बोर्डले देशको क्रिकेटको भविष्यमा पर्ने दीर्घकालीन र गम्भीर प्रभावहरूलाई विचार गर्ने बताउदै घुमाउरो भाषामा चेतावनी समेत दिएको छ । यसले विश्वव्यापी क्रिकेट इकोसिस्टमलाई पनि असर गर्ने भन्दै आइसीसीले पाकिस्तान पनि यसको लाभार्थी मध्ये के रहेको उल्लेख गरेको छ । साथै आइसीसीले टी – २० विश्वकप शीर्ष प्राथमिकता रहेको बताउदै यसलाई सफल बनाउन सबै सदस्य देशहरू जिम्मेवार हुनुपर्ने स्पष्ट गरेको छ ।
पाकिस्तान सरकारले आइतबार आगामी टी-२० विश्वकपमा भाग लिने निर्णय गर्दै फेब्रुअरी १५ मा हुने भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको थियो ।
यस अघि बंगलादेशले दुई देशबीचको तनावका कारण भारतमा विश्वकप खेल्न नसक्ने निर्णय गरेपछि आइसीसीले उसलाई हटाएर स्कटल्याण्डलाई विश्वकपमा सहभागी गराएको थियो ।










