आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

काठमाडौँ । आज आश्विन शुक्ल सप्तमीका दिन अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर तथा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फूलपाती नौ वटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मान वृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,” उनले भने।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताए ।

यस्तै, हनुमान ढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

राजतन्त्र रहुन्जेलसम्म हनुमान ढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गा पूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस स–परिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने गर्दछन् ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-