ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ।
डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन र संयुक्त अधिराज्यले अभ्यासमा भाग लिएका थिए ।
संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘नेटो सदस्यहरूको रूपमा, हामी साझा ट्रान्सएट्लान्टिक हितलाई ध्यानमा राख्दै आर्कटिक क्षेत्रको सुरक्षा सुदृढ पार्न प्रतिबद्ध छौं । पहिले समन्वय गरिएको ‘आर्कटिक एन्ड्युरेन्स’ अभ्यास यस आवश्यकतालाई ध्यानमा राख्दै सहयोगीहरूसँगको सहकार्यमा गरिएको डेनिश अभ्यास हो । यसले कसैलाई पनि खतरामा पार्दैन ।’
विज्ञप्तिमा अगाडी भनिएको छ- ‘हामी डेनमार्क र ग्रिनल्याण्डका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिएका छौं । गत हप्ता सुरु भएको प्रक्रियामा निर्माण गर्दै, हामी सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित वार्ताको लागि तयार छौं, जसलाई हामी दृढतापूर्वक समर्थन गर्छौं ।’
शनिबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । विज्ञप्तिमा ट्रम्पले लगाएको करका बारेमा भनिएको छ- ‘ट्यारिफ धम्कीले ट्रान्सएट्लान्टिक सम्बन्धलाई कमजोर बनाउछ र सम्बन्ध बिग्रने जोखिम बढाउछ । हामी हाम्रो प्रतिक्रियामा एकताबद्ध र समन्वयित रहनेछौं । हामी हाम्रो सार्वभौमसत्ता कायम राख्न प्रतिबद्ध छौं ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने बारम्बार जोड दिएका छन् । उनले यस सम्बन्धमा धेरै बयान दिएका छन्, जसको डेनमार्क सहित धेरै युरोपेली देशहरूले विरोध गरेका छन् ।
ट्रम्पले ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको तर्क गर्दै आएका छन् । उनले अमेरिकाले ग्रिनल्याण्डलाई नलिएमा यसलाई चीन र रूसले यसलाई कब्जा गर्ने दाबि गर्दै आएका छन् ।










