दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ माघ । बीरगंज महानगरपालिका आम सञ्चारमाध्यम प्रबर्द्धन तथा नियमन समिति बिहीबार सम्पन्न वैठकले बीरगंजका पत्रकारहरुका लागि आपतकालिन कोष खडा गर्ने निर्णय गरेको छ ।

आम सञ्चारमाध्यम प्रबर्द्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा बिहीबार महानगरपालिकाको सभा हलमा सम्पन्न वैठकले वीरगंजका श्रमजीवी पत्रकारहरुलाई आपतकालिन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन आपतकालिन कोष निर्माण गर्ने निर्णय गरेको छ ।

वैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने भएको छ ।

त्यसैगरी वैठकले बीरगंज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।

वैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताउनु भयो ।

बैठकमा समितिका सदस्य वृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, अमित साह, सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।