आरिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा नेपाललाई ७ विकेटको सानदार जित दिलाउन अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आरिफले १ सय २ बलमा ४ चौकासहित ५९ रनमा अविजित रहे । यो आरिफको ओडिआई करिअर कै पहिलो अर्धशतक हो । नेपालले ज्ञानेन्द्र मल्ललाई बेन्चमा राख्दै आरिफलाई तेस्रो नम्बरमा ब्याटिङमा पठाएको थियो ।
आरिफले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग मिलेर ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरे । कुशल भुर्तेल ५० रनमा आउट हुँदा रोहित कुमार पौडेल ४४ रनमा अविजित रहे । आरिफले चौथो विकेटका लागि रोहितसँग ७७ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हार्दै पपुपा न्युगिनीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।