
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०१ जेठ । बिरगंजमा पहिलोपटक महिलामुखी अन्तर्राष्ट्रिय स्तरको क्लब इनर व्हील क्लब अफ बिरगंजको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ मा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको प्रायोजनमा अध्यक्ष रोटेरियन अनिल जयसवालको कार्यकाल र नेतृत्वमा यो इनर ह्वील क्लब क्लबको स्थापना गरिएको हो ।
बुधबार बीरगंजमा सम्पन्न कार्यक्रम मा इनर व्हील क्लब अफ बिरगंजको चार्टर अध्यक्षको रूपमा मनजरी श्रेष्ठ चयन भएकी छिन् । क्लबको नेतृत्वमा निम्न पदाधिकारीहरू रहेका छन्: उपाध्यक्ष: डा. प्रीति गुप्ता, सचिव: निलम ब्याहुत, कोषाध्यक्ष: निभा दास, आईएसओ: सरिता यादव, संपादक: प्रियंका झा चयन भएका छिन ।
कार्यक्रममा इनर व्हील जिल्ला अध्यक्ष आशा श्रेष्ठले क्लबका २० जना सदस्यहरूलाई औपचारिक रूपमा चार्टर प्रदान गर्दै सम्मान गरेकी थिइन् । साथै, जिल्ला प्रतिनिधि सबिता दास र बिनिता अधिकारीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका सचिव हरिओम साह, पूर्व अध्यक्ष संजय साह, शशि रञ्जन, डा. अशोक दास लगायतको पनि विशेष सहभागिता रहेको थियो ।
नवगठित क्लबले सामाजिक सेवामा सक्रिय रही महिला सशक्तिकरण र समुदाय विकासमा योगदान पुर्याउने र महिलामुखी अन्तर्राष्ट्रिय क्लबको स्थापना, सामाजिक सेवा र महिला सशक्तिकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।