काठमाडौं, साउन ८ गते । उद्योग क्षेत्रमा लगानी वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको अवधिमा स्वदेशी र विदेशी लगानीकर्तामार्फत कुल ३ खर्ब ४३ अर्ब लगानी प्रतिबद्धता आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भएको लगानीको तुलनामा आव २०७८/७९ मा १ खर्व ८६ अर्व ९१ करोड बढी लगानी भएको विभागले जनाएको छ । साना, मझौला र ठूला उद्योग गरी कुल ३०९ वटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । जसबाट २८ हजार ७२७ जनालाई रोजगारी दिने उद्देश्य रहेको छ । ३०९ वटा उद्योगमध्ये साना ११०, मझौला १०८ र ठूला ९१ उद्योग स्थापना गर्ने प्रतिबद्धता छ ।
विभागका सूचना अधिकारी पूर्णिमा लम्सालका अनुसार यसरी उद्योग क्षेत्रमा लगानी बढ्नु मुलुकको औधेगिक विकास र आर्थिक विकास हुने बताउनुभयो । ‘पछिल्ला वर्षहरुमा उद्योग क्षेत्रमा स्वदेशी र विदेशी लगानी बढ्दै गएको छ । जसले मुलुकको औद्याेगिक र आर्थिक विकासमा ठूलो योगदान गर्दछ’ उहाँले भन्नुभयो ‘देशमा बढ्दो बरोजगारीलाई केही कम गर्न मद्दत मिल्छ ।’
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको अवधिमा १ खर्ब ५६ अर्ब ६४ करोड ५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिवद्धता २ सय ३ वटा उद्योग तथा ११ हजार ८ सय ३३ जनालाई रोजगारीसहित आएको विभागको तथ्याङ्क छ ।
आव २०७८÷७९ मा विदेशी लगानी मात्र ५४ अर्ब १५ करोड भित्रिएको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को अवधिमा सबैभन्दा बढी उर्जाजन्य र सबैभन्दा कम खनिजजन्य उद्योगमा लगानी प्रतिबद्धता आएको छ । उर्जाजन्यमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख रुपियाँ, उत्पादनजन्यमा ८९ अर्ब ७९ करोड ४१ लाख रुपियाँ, सेवाजन्यमा ४६ अर्ब ७५ करोड ५८ लाख रुपियाँ, कृषि तथा वन पैदावरमा पाँच अर्ब २८ करोड ९१ लाख रुपियाँ, पर्यटनजन्यमा २ अर्ब ६५ करोड ४९ लाख रुपियाँ, पूर्वाधारजन्यमा २ अर्ब २७ करोड ९१ लाख रुपियाँ, सूचना प्रविधिजन्यमा १ अर्ब ८९ करोड ८५ लाख रुपियाँ र खनिजजन्यमा २५ करोड ९९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार कृषि तथा वन पैदावरजन्य २१ वटा, उर्जाजन्य ५० वटा, सूचना प्रविधिजन्य ११ वटा, पूर्वाधारजन्य १ सय १६ वटा, खनिजजन्य २ वटा, सेवाजन्य ४६ वटा र पर्यटनजन्य ५८ वटा उद्योग स्थापना तथा वन पैदावरजन्यमा १ हजार १ सय ५५ जना, उर्जाजन्यमा १ हजार ७ सय २१ जना, सूचना प्रविधिजन्यमा ८ सय ८९ जना, पूर्वाधारजन्यमा ३ सय ९९ वटा, उत्पादनजन्यमा १४ हजार ६ सय १ जना, खनिजजन्यमा ९१ जना, सेवाजन्यमा ५ हजार ८ सय ३६ जना र पर्यटनजन्यमा ३ हजार ८ सय ३६ जनालाई रोजगारीसहितको लागानी प्रतिवद्धता आएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा पनि सबैभन्दा बढी उर्जाजन्य र सबैभन्दा कम खनिजजन्यमा आएको थियो ।
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार घरजग्गा बाहेक बढीमा २० लाख रुपियाँसम्म स्थिर पुँजी भएको लघु उद्यम, परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग ठहर गरेको छ । १५ करोड रुपियाँँसम्मको स्थिर पुँजी भएको साना, १५ करोड रुपियाँदेखि ५० करोड रुपियाँसम्मको मझौला र ५० करोड रुपियाँभन्दा माथि स्थिर पूँजी भएका उद्योग ठूला उद्योग हुन् । स्वदेशी लगानीकर्ताले औद्योगिक व्यवसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत् नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।
source gorkhapatra