कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी

म्याग्दी । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् ।

डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए ।

सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना सङ्कलन गरिएको जानकारी दिए।

“डोल्पामा प्रशस्त च्याङ्ग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन् । निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ”, उनले भने, “पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा सङ्कलन गरेर लैजाँदै आएका छौँ । डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ ।”

डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा सङ्घका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो ।

कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङ्ग्रा फार्म अवलोकन, भुवाको नमूना सङ्कलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, सङ्कलन गर्ने सीप र प्रविधि सिकाउन र सङ्कलन केन्द्र बनाउन प्रस्ताव गरेका थिए ।

मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उनले बताए । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब एक सय घर किसानले ३० हजारभन्दा बढी च्याङ्ग्रा पालेका छन् ।

वैशाख, जेठ र असार च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताए । भुवाले बजार पाएमा च्याङ्ग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उनले बताए ।

भुवाको नमूनाको गुणस्तर परीक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा सङ्कलन गर्ने आधुनिक सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र सङ्कलन केन्द्र स्थापना गरेर खरिद गरिने सङ्घका सचिव गीता श्रेष्ठले बताइन् ।

सङ्घको समन्वयमा मुस्ताङबाट २०७९ मा रु एक करोड ३४ लाख मूल्यको दुई हजार किलोग्राम, २०८० मा रु ९० लाखको भुवा खरिद भएको थियो । यस वर्ष प्रतिकिलो रु चार हजार पाँच सयका दरले एक हजार छ सय किलोग्राम भुवा खरिद गरेर लोमान्थाङको सङ्कलन केन्द्रमा राखिएको छ ।

च्याङग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । डोल्पामा चौरीको भुवालाई पनि कच्चा पदार्थका रूपमा प्रयोग गर्न अध्ययन भएको छ । प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी किच्नु श्रेष्ठले बताए ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    • April 30, 2025
    • 44 views
    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 27 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 44 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 20 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम