नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ । केहीबेरअघि देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक शुरु भएको हो ।
यो बैठक विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो ।
बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि थापाले पार्टी कार्यालयमा सभापतिको पदभार ग्रहण गरेका थिए ।
गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।









