विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, १४ जेठ । स्थानीय काठमाडौँ महानगरपालिका वडा नंं ७ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज गौरीघाटस्थित नेपाली कांग्रेस टोल कमिटिद्वारा आयोजित कार्यक्रमबीच वडा अध्यक्ष विमलकुमार होडा, सदस्य रुपा थापा क्षत्री, उज्वल अर्याल, कल्पना सुन्दास र सुरेशी शाहीलाई आगामी कार्यकालको लागि शुभकामना दिइएको हो ।

नव निर्वाचित वडा अध्यक्ष विमलकुमार होडाले स्थानीयहरुको अपार माया र सद्भावकै कारण २५ वर्षपछि पुनः नेपाली कांग्रेसलाई सफलता दिलाउनु हुने टोलीबासीकै योगदानलाई स्मरण गर्दै स्थानीय समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने प्रण गर्नुभयो । उहाँले वडाबाट सम्पादन गर्ने कार्यमा सहकार्य गर्न समेत टोलबासी सम्पूर्णलाई आग्रह गर्दै वडाबाट सम्पादन हुने कार्यमा चुस्तदुरुस्त कार्य गर्ने बचतबद्धता समेत व्यक्त गर्नुभयो । नव निर्वाचति वडा सदस्य रुपा थापा क्षत्रीले महिलामुखी वडा बनाउने कार्यमा आफू दत्तचित्त भई लाग्ने प्रण गर्नुभयो भने सदस्य कल्पना सुन्दासले आफू शैक्षिक क्षेत्रमा क्रियाशील भएकाले गर्दा वडाको समग्र शैक्षिक विकासमा टेवा पु¥याउने बचनवद्धता व्यक्त गर्नुभयो । त्यस्तै वडा सदस्य उज्ज्वल अर्यालले धर्म संस्कृतिको संरक्षण तथा दिगो विकास व्यवस्थापन कार्यमा आफूले वडावासीको सुझाव अनुरुप कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै, सदस्य सुरेश शाहीले स्थानीय विकास निर्माण कार्यमा टोलीबासीहरुको सुझाव सल्लाह बमोजिम आफू क्रियाशील हुने धारणा राख्नुभयो ।

सो कार्यक्रममा कमिटिका अध्यक्ष शाम्वेसराज सत्याल, सचिव अनिता भण्डारीलगायत स्थानीय बासिन्दाहरुले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।