काठमाडौँ । इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहानदेखि गाजामा युद्धविराम लागू हुने भएको छ ।
युद्धविरामको ७२ घण्टा भित्र बन्धकहरूलाई रिहा गरिने बताइएको छ । हाल हमासले बन्धक बनाएका बीस जना इजरायलीहरू अझै जीवित रहेको विश्वास गरिएको छ । यी बन्धकहरूको बदलामा, इजरायलले आफ्नो जेलबाट सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सहमत भएको छ ।
सबै बन्धकहरुको रिहाई हुने भनिएको भएपनि नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अझै अज्ञात रहेको छ । हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौताको वार्तामा सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । नेतान्याहूलाई आफ्नै राजनीतिक उद्देश्यका लागि द्वन्द्व लम्ब्याएको आरोप लगाइएको छ । यसैबीच, हमास गाजा प्रमुख खलील अल-हय्याले अमेरिका र अन्य मध्यस्थकर्ताहरूले युद्ध समाप्त भएको ग्यारेन्टी दिएको बताएका छन् ।








