विष्णुप्रसाद तिमिल्सना
काठमाडौँ, साउन ७ गते । गौरीनगर सुधार समितिको ३३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । का.म.पा. वडा नं. ७ गौरीघाटस्थित मचगापार्क परिसरमा आज बिहान ८ः०० बजे आयोजित एक कार्यक्रम बीच ३३औँ वार्षिकोत्सव समितिका संस्थापक अध्यक्ष श्यामलाल उदासले केक काटेर समुद्घाटन गर्नुभएको हो । सो अवसरमा स्थानीय संघसंस्थाका प्रतिनिधि, समितिका पदाधिकारी तथा सदस्यहरूको व्यापक सहभागिता रहेको थियो ।

सो अवसरमा समितिका दिवंगत हुनुभएका पूर्वअध्यक्षद्वय स्व. चक्रबहादुर श्रेष्ठ, स्व. पुरुपोत्तम शर्मा र संस्थापक पूर्वसदस्य स्व. सुधाराज गिरीप्रति एक मिनेट मौन धारणा गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
कार्यक्रममा संस्थापक सदस्य गोपाल पण्डित, पूर्वअध्यक्ष राजाराम भट्टराई, निवर्तमान अध्यक्ष मोतीलाल उदास, का.म.न.पा. वडा नं. ७ का निर्वतमान सदस्य तथा समितिका सल्लाहकार कृष्णप्रसाद घिमिरे, गौरीमातृ महिला शक्ति समूहका अध्यक्ष गीता शर्मा खरेल, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नवजागरुक युवा क्लबका संस्थापक/अध्यक्ष अमृतजंग थापा, मैतीदेवी मिडिया प्रा.लि.का सञ्चालक तथा कालोझोला डटकमका निर्देशक सुमन सुवेदी, समितिका क्लिनिङ् सर्भिसेस प्रा.लि.का सञ्चालक राजेश न्यौपानेलगायत स्थानीय संघसंस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका महासचिव अनिता भण्डारीले गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा समितिका संस्थापक अध्यक्ष श्यामलाल उदासले विगतलाई स्मरण गर्दै गौरीनगर सुधार समितिले टोलका सानातिना समस्यादेखि माथिल्लो स्तरका समस्याहरूमा समेत अनवरत रुपमा समाधान गर्ने कार्यमा लागिपरेको बताउँदै वर्तमान कार्यसमितिका पदाधिकारीहरूलगायत टोलबासीहरूप्रति आभार प्रकट गर्नुभयो ।
समितिका अध्यक्ष कमलप्रसाद काफ्लले ३३औँ वार्षिकोत्सवको यो अवस्थासम्म आइपुग्दा प्रत्यक्षपरोक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिँदै विगतका अध्यक्षहरूको विरासतलाई अवलम्बन गर्दै आफूले सक्दो कार्य गर्दै आएको बताउनुभयो । साथै, उहाँले समितिको पहलमा स्थानीयस्तरमा सरसरफाइ, मठमन्दिरको संरक्षण तथा चाडपर्वहरू मनाउने कार्यहरूमा समेत समितिको उल्लेख्य पहल रहँदै आएको बताउनुभयो । आउँदो साउन ८ गतेदेखि युवा पण्डित जगन्नाथ सुवेदीको मुखराविन्दुबाट श्रीमद् भागवत चर्तुमासा महापुराण आयोजना गरिन लागेकोले टोलबासीलगायत सबैलाई सहभागि हुन समेत अनुरोध गर्नुभयो ।


सो अवसरमा क्लिनिङ सर्भिसेस प्रा.लि.का सञ्चालक राजेश न्यौपानेले मचगापार्कस्थित ऐतिहासिक इनार तथा पार्क वरिपरिको क्षेत्र निशुल्क रुपमा सरसफाइ गरिदिने वचनबद्धता व्यक्त गर्नुभयो ।