चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रमा विपद्को अवस्था घोषणा गरेका छन् । यी क्षेत्रहरूमा भएको ठूलो जंगल आगलागीमा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।
राजधानी सान्टियागोबाट लगभग ५०० किलोमिटर दक्षिणमा अवस्थित नुबल र बायोबियो क्षेत्रबाट ५० हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
बोरिकले मृतकको संख्या बढ्ने अनुमान गरिएको बताएका छन् । चिलीमा सबैभन्दा खतरनाक आगो तटीय शहर कन्सेपसियनसँग जोडिएको सुख्खा जंगलमा फैलिएको छ। विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार, लगभग २५० घरहरू नष्ट भएका छन्।
स्थानीय मिडियाले सडकमा जलेका कारहरूको तस्बिरहरू देखाएका छन् । चिलीको वन एजेन्सी, कोनाफका अनुसार, सबैभन्दा गम्भीर अवस्था नुबल र बायोबियोमा छ । अहिलेसम्म यी दुई क्षेत्रमा ८५०० हेक्टर, वा लगभग २१ हजार एकड आगोले जलेको छ।










