दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १२ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, बिर्ता को संयुक्त टोलीले शनिबार दिउँसो करिब ०४:३० बजेको समयमा चोरीको सामान सहित दुई जना चोरहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
कार्तिक ०८ गते रातीमा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ०१, जानकीनगर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. ०५ स्थित घरकोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशै मनाउन आफ्नो सम्पूर्ण परिवारका सदस्यहरूलाई साथमा लिई आफ्नो पुर्खौली घर गएको मौका छोपी घरकोठाको ताल्चा फुटाई सुन चाँदीका गर-गहाना तथा नगद समेत गरी अंदाजी मूल्य रू. १० लाख बराबरका मालबस्तुहरू तथा गरगहानाहरू चोरी भएको भनी सूचनाको आधारमा उक्त दिन खटिएको संयुक्त प्रहरी टोलीले दुई जना व्यक्तिहरू बीरगंज महानगरपालिका वडा नं. १६ बस्ने बर्ष ३० को पवन यादव र बर्ष ३२ को शेख मख्खु लाई नियन्त्रणमा लिइ कानूनी रीतपुर्याई खानतलासी गर्दा उक्त चोरीमा संलग्न मध्येका वीरगञ्ज उपमहानगरपालिका वडा नं. १६, नगवा बस्ने अंदाजी वर्ष ३२ को शेख मख्खुको साथबाट सुन जस्तो देखिने धातुबाट बनेको औठी २ थान, सुन जस्तो देखिने धातुबाट बनेको चन्द्रमाको कभर १ थान, सुन जस्तो देखिने धातुको डल्लो १ थान, मंगलसुत्र १ थान, कानको टप १ थान, चाँदी जस्तो देखिने धातुबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान तथा रू. १ हजार दरका नोट १५ थान (रु. १५ हजार) फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई निजहरू विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको कुरा पर्सा प्रहरी का प्रवक्ता डीएसपी कुमार विक्रम थापाले बताएका छन् ।