काठमाडौँ , भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशमा परिवर्तनको रेखा कोर्यो । तत्कालिन सरकार ढल्यो र नागरिक सरकारको गठन भएको दाबी गरियो । आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने साढे ४ सयभन्दा बढी घाइते भए । जसमा अहिले पनि कैयौं घाइतेको उपचार जारी रहेको छ भने कैयौं घाइते गोलीको गाउ निको हुने प्रतिक्षामा घरमै रहेका छन् ।
सरकार गठन भएपछि आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा गर्दै १५-१५ लाख दिने घोषणा गर्यो । तर सरकारले आन्दोलनमा घाइतेका लागि नि: शुल्क उपचार गर्ने घोषणा गरेर पन्छियो ।
यस बीचमा घाइतेको साहारा बनेर अगाडी आएकी छन् समाजसेवी आशिका तामाङ । कान्छा…भाई…कहाँ गोली लाग्यो…तिमीले गर्दा देशमा परिवर्तन आयो…बधाई छ…यस्तै यस्तै आशा, साहारा र भरोसा दिदै आशिका अहिले घाइतेका कोठा कोठा पुगेर नगद, चामलदेखि कपडा, तेललगायतका खाद्यान्न सहयोग गरेकी छन् । उनले हरेक घाइतेलाई न्युनतम २५ हजार सहयोग गरेकी छन् भने घाइतेको अवस्था हेरेर बढी रकम पनि सहयोग गरेकी छन् । गोली लागेको शरीर लिएर घरमा पुगेकाको कस्तो अवस्था छ भनेर तिनैको आन्दोलनको जगमा बनेको सरकारले सोच्न नसकेको समयमा अहिले घाइतेले आशिकालाई फोन गरेर सहयोग माग्न थालेका छन् र चामलको बोरा बोकेर कान्छा…भाई भन्दै आशिका सहयोगको लागि कोठा कोठामा पुगेको दृश्यले जेनजी आन्दोलनको जगमा बनेको सरकारलाई गिज्याइरहेको छ ।
फेरी सरकारको आलोचना गर्ने बेला भएको छैन भन्ने कुरा पनि आउला तर यो सरकार आन्दोलनको जगमा बनेको हो । आन्दोलनमा मृत्यु भएका र घाइते भएकाको अवस्था, उनीहरुको उपचार र उनीहरुको अबको जीवन कसरी चल्छ भन्ने सरकारले सोचेन भने सरकारको औचित्यमा प्रश्न उठाउनुनै पर्छ । ट्रेलर हेरेर सिनेमा कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ भनेझैँ सरकारले आफ्नो आलोचना गर्ने ठाउ आफै सिर्जना गरिरहेको छ ।
सरकारले घाइतेको उपचार र उनीहरुको अवस्था बुझ्न हरेक दिन ढिला गरिरहेको छ । आन्दोलनबाट प्रधानमन्त्री र मन्त्री बनेको हो हौँ भन्ने एक सातामै सम्झाउनु पर्यो भने त्यो दुर्ग्भाग्यपूर्ण अवस्था हो । शहिद घोषणा गरेर, यति पैसा दिन्छौं भनेर मात्र जिम्मेवारी पुरा हुदैन भन्ने प्रधानमन्त्री र मन्त्रीहरुले बुझ्नुपर्छ ।
संयोगवश समाजमा आशिका तामाङ जस्ता समाजसेवी छन् जसले सरकारले गर्नुपर्ने काम निश्वार्थ भावनाले गरिरहेका छन् र जेनजी आन्दोलनमा गएकाहरुको अलिकति आत्मविश्वास बचाई राखेका छन् ।









