
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) ले सङ्घीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईसहित ९ जना नेताहरुलाई कारवाही गरेको छ ।
बुधबार देखि चलिरहेको पार्टीको एतिहासिक बैठकमा बिहिबार जसपाको केन्द्रीय समितिको बैठकले डा. भट्टराईसहित ९ जनाले पार्टीको विधान विपरित काम गरेको आरोप लगाउँदै सम्पूर्ण पदहरुबाट पदमुक्त गर्दै कारवाही गरिएको छ ।
शुक्रबार बीरगंजको होटल भिष्वामा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराई सहित केन्द्रिय कार्यकारिणी सदस्य महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दान बहादुर चौधरी र भक्त बहादुर शाहलाई कारवाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको कुरा बताएका छन् ।
डा. बाबुराम भट्टराईले जसपालाई फुटाउने गरेको प्रयास असफल भएको बताउँदै उनि नयाँ पार्टी दर्ता गराउने प्रक्रियामा अगाडि बढेको हुँदा उनि लगायत ९ जनालाई पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष यादवले बताएका छन् । डा. भट्टराईलाई पदीय जिम्मेवारीबाट मुक्त गरीएपनि उनलाई पार्टीले सदस्यता बाट निष्कासन भने गरेको छैन ।
‘डा. बाबुराम भट्टराईले पार्टी विभाजन गर्न गरी गुटको बैठक बोलाउनुभयो, यो गलत कार्य थियो । यो पार्टीको नीति, घोषित सिद्धान्तका विपरित, पार्टी अनुसासनका विपरित छ,’ अध्यक्ष यादवले भने, ‘उहाँहरु अहिले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी खोल्ने प्रयासमा हुनुहुन्छ । त्यसैले उहाँ लगायत ९ जनालाई कारवाही गर्ने हामीले निर्णय गरेका छौँ ।’ आफ्नो गल्ति स्वीकार्दै फिर्ता आउन खोजे डा. भट्टराईलाई पार्टीले स्वागत गर्ने यादवको भनाई थियो । ‘आफ्नो गल्ती स्वीकार्दै फिर्ता आउनु हुन्छ भने हामी उहाँलाई स्वागत गर्छौं । तर, अर्कै पार्टी खोल्छु भनेर जानुभयो भने हामी उहाँलाई रोकदैनौं र पार्टीको साधारण सदस्यता बाट समेत निष्कासन गर्ने बाध्य हुने छौं ।’