तीज गीत किन विवादित ?

गण्डकी, १७ साउन (रासस) : राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत आइतबार गर्‍यो । तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले बुधबार विज्ञप्तिमार्फत माफी माग्नुपर्‍यो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँले आगामी दिनमा शब्द र सङ्गीत छनोट गरेर गाउने जनाउनुभएको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भयो । यसवर्ष पनि दर्जन बढी त्यस प्रकृतिका गीत विवादित बनेका छन् । तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीतका मर्मत चिन्तित छन् । पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको बताउनुभयो । “नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उहाँले भन्नुभयो, “सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरू लागि परेका छन् ।” अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीज गीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको बताउनुभयो ।

“मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूका गीत सार्वजनिक भइरहेका छन्”, उहाँले भन्नुभयो, “तर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्यूज पनि कम छ ।” लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न आफूहरूले पहल गरेपनि स्वयं सर्जक/कलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जर्गेना हुने उहाँको भनाइ छ । उहाँले उच्छृङ्खल गीत र तिनका चल दृश्यलाई समाजले पनि नकार्नुपर्ने अध्यक्ष थापा मगरले बताउनुभयो ।

तीज गीत महिलाले मात्र गाइने भनेर चिनिए पछिल्लो समय पुरुषले पनि तीज गीत गाउन थालेका छन् । लोकगायक वसन्त थापाले तीज गीतमा अभद्र खालका शब्द र प्रस्तुति हुनु दुःखद् रहेको बताउनुभयो । उहाँले सर्जकले तीज गीतको परम्परा र मौलिकतालाई आत्मसात गर्नुपर्ने बताउनुभयो । “पछिल्लो समय तीज पनि दोहोरी जस्तो हुन थालिसकेको छ, सस्तो चर्चाका लागि मात्र तीज गीत सार्वजनिक गर्नुहुँदैन”, उहाँले भन्नुभयो, “तीज गीत विषयपरक गीत हो, यो हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनुहुँदैन ।”

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्लो समय तीज गीतको विषयवस्तु र शैली भड्किलो बनेको बताउनुभयो । मौलिक संस्कृतिसँग जोडिएको तीज गीतको जगेर्ना र संरक्षणमा गर्नुपर्नेमा नयाँ पुस्ता उल्टै बिगार्नतर्फ लागेको उहाँको भनाइ छ । “तीज गीतको विधान खल्बलिँदै गएको छ, यसको मूल मर्म भत्किसकेको छ”, कोइरालाले भन्नुभयो, “तीज पर्व मान्नै शैली पनि बदलियो, आधुनिकताको मारमा हाम्रो मौलिक संस्कृति परिरहेको छ ।”

तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने लोकगायिका कोइरालाको तर्क छ । तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उहाँको गुनासो छ । “तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,” उहाँले भन्नुभयो ।

कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गर्नुभयो । लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भन्नुभयो, “महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, तीजका गीतले समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ ।”

उहाँका अनुसार पहिलेपहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउन गर्थे । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको पाइन्छ । तीज गीतमा विशेष गरि नारी मुक्तिको आवाज मुखरित हुने गर्थ्यो ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको सङ्गीतकर्मीहरु बताउँछन् । तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको बिम्व हराइसकेको छ । युवायुवतीबीच हुने प्रेमको हलुका विषयले तीज गीतमा ठाउँ लिएको छ ।

‘भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरि लै
लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरिलै…।’

अब के यस्ता तीज गीतको युग सकिएकै हो त ?

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-