दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रूपमा हेरिएको छ ।

तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै प्रतियोगिता तोकिएकै मितिमा हुने नहुनेमा अन्यौलता छाएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब करिब साढे दुई महिनामात्र बाँकी छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा सरकार परिवर्तन भएसँगै प्रतियोगिता केही समय पछाडि धकेलिने चिन्ता व्यक्त गरिएको छ । केही दिनअघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी नपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने सङ्केत देखिएको हो ।

मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ भने प्रदेश खेलकुद विकास परिषद्ले एक सय दिनको काउन्टडाउन पनि सुरु भएको बताएको छ । सो कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले सबै तयारी पुगेपछि मात्रै दिनगन्ती गर्न सुरु गर्नुपर्ने बताएका थिए ।

कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले भने प्रतियोगिता पूर्वाधारले सार्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रङ्गशाला हो, रङ्गशालाको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ’ उनले भने, ‘बाँकी असोजभित्रमा सम्पन्न भइसक्छ, त्यसैले पूर्वाधारका कारण प्रतियोगिता सार्नुपर्ने अवस्था छैन ।

प्रतियोगिताका लागि २४ खेल खेलाइने पूर्वाधार करिब पूरा भएको छ, तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न सकिन्छ ।’ आफू अनुकूलका पदाधिकारी नियुक्तिपछि मात्रै प्रतियोगिता गर्ने रणनीति बनाएको जनाउँदै सरोकारवालाले तोकिएकै समयमा प्रतियोगिता गर्न माग गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णालीमा खेलाउन सकिने खेलको वर्गीकरण गरेर १० वटै जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिता तोकिएकै मितिमा हुने वा नहुने भन्ने प्रष्ट नहुँदा खेलाडी पनि अन्यौलमा परेको कराँते प्रशिक्षक प्रदीप राई बताउँछन् । ‘प्रदेश सरकार त तयारी अवस्थामा भएको जस्तो देखिन्छ, तर सङ्घीय सरकारले भने प्रतियोगिता तोकिएकै मितिमा हुने नहुने भन्ने प्रष्ट पार्न नसकेको जस्तो देखियो’, उनी भन्छन्, ‘प्रतियोगिता तोकिएकै मितिमा हुनुपर्छ खेलाडी अनि हामी प्रशिक्षक पनि त्यहीअनुसार लागिरहेका छौँ ।’

प्रतियोगिताको लागि खेलाडीहरूले अहिले तयारी गरिरहेका छन् । तोक्वान्दो खेलाडी नरेन्द्र रावत बन्द प्रशिक्षकमा बसेको दुई महिना भइसकेको बताउँछन् । अहिले तयारी गरिरहेको बताउँदै उनले प्रतियोगिता सहभागी हुने खेलाडीलाई अन्यौलता सिर्जना नगर्न सुझाव दिए ।

‘हामी अहिले तयारीका लागि बन्द प्रशिक्षणमा छौँ, खेलाडीको पीरमर्का पनि सरकारले बुझ्न सकेको छैन, प्रतियोगिता तोकिएकै समयमा हुनेमा शङ्का उत्पन्न भएको छ’ अर्का खेलाडी दिप्ती नेपाली पनि प्रतियोगिता समयमै हुनुपर्ने बताउँछन् । आफूहरूलाई विभिन्न कोचसँगै ‘मोटिभेसनल’ तालिम आवश्यक रहेको उनको माग छ । राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनुपर्ने जनाउँदै कर्णाली प्रदेशसभामा सदस्यले माग गरेका छन् ।

खेलकुद परिषद्का सदस्य तथा पदाधिकारीको पदावधि नसकिँदै प्रतियोगिताको समय आएपछि यसअघि पनि प्रतियोगिता सार्ने गरिएको दृष्टान्त रहेको छ । अहिले कर्णाली प्रदेशसभामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा नै हुनुपर्ने सांसदहरुले माग गरेका छन् । प्रदेशसभा सदस्य, कृष्णबहादुर जिसीले प्रतियोगिता नजिकिँदै गर्दा आयोजक सङ्घीय सरकार सुतेर बसेको भन्दै अब उठ्न आग्रह गरे ।

उनले भने, ‘प्रदेश सरकारले एक सय दिने ‘काउन्डाउन’ सुरु गरिसक्यो, आयोजक सङ्घीय सरकार सुतेर बसेको छ, यसले गर्दा प्रतियोगिता समयमै सम्पन्न हुन्न कि भन्ने आशङ्का जन्माएको छ, म सङ्घीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु भने प्रदेश सरकारलाई पनि आवश्यक समन्वय गर्न अनुरोध गर्दछु ।’

Tags : कर्णाली प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-