खोटाङ, १६ चैत: मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो । अब दुवै पुलको सडक संरचना (एप्रोच रोड)को काम मात्र बाँकी छ । निर्माणाधीन दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताउनुभएको छ । विसं २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभागसँग भ्याटबाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो । यसैगरी, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो । विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ । भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताउनुभयो । “छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ । एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्ने गरी समन्वय भएको छ । “त्यसो गर्दा कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ”, उहाँले भन्नुभयो, “वैशाखभरिमा सडक संरचनाको काम सक्छौँ । त्यहीअनुसार आवश्यक निर्माण सामग्री सङ्कलन गरिरहेका छौँ ।” निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ । वर्षा सुरु हुनासाथ निर्माणको काम रोकिन्छ”, उहाँले भन्नुभयो, “ निर्धारित समयभन्दा अगाडि पुल काम पूरा गर्नेलाई पुरस्कृत गर्ने योजना छ ।”