पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले जानकारी दिए ।

अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उनले बताए। स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलब भत्ता भुक्तानी तथा अन्य नियमित काममा समस्या परेको डा.बाँस्तोलाले बताए । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्छन्, उनीहरूलाई सेवा दिनैपर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ । अस्पताल व्यवस्थापन समितिको कोषबाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सिर्जना हुन थालेको उनको भनाइ छ ।

“अहिले डेङ्गीको जोखिम छ, बिरामीले अस्पताल भरिभराउ छ, सरकारले दिएको डेङ्गी परीक्षण कीटले नपुगेर अस्पताल व्यवस्थापन समितिले आफैँ खरिद गर्नुपर्ने अवस्था छ”, उनले भने, “सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।”

पर्वतमा स्वास्थ्य बीमामा आबद्ध भएका झण्डै ४२ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । स्वास्थ्य बीमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उनको भनाइ छ ।

एक परिवारका लागि रु तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेको साधारण परिवारको हकमा प्रतिसदस्य थप रु सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ ।

अस्पतालमा पछिल्ला केही वर्षयता बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएपछि बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको हो । आव २०८०/८१ मा झण्डै ६० हजार बिरामीको उपचार गरिएको पर्वत अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा बाँस्तोलाका अनुसार सीमित स्रोत र जनशक्तिका बीच बिरामी उल्लेख्य मात्रामा उपचारका लागि आएको बताए ।

उनका अनुसार आव २०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले सेवा लिएका थिए । अस्पतालबाट विशेषज्ञ सुविधासँगै ५० शय्यामा विस्तार भएपछि विगतका वर्षहरूमा भन्दा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ । दुई वर्ष अगाडि दैनिक एकदेखि डेढ सय जानाको स्वास्थ्य परीक्षण हुने गरेकामा अहिले दैनिक करिब तीन सय पुगेको छ ।

भौतिक संरचना निर्माण र सेवा विस्तार भए पनि सरकारले ५० शय्याको अनुमति नदिँदा समस्या भइरहेको डा बास्तोलाले बताए । अस्पतालमा अझै बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञलगायतको अभाव रहेको उनको भनाइ छ । अहिले अस्पतालबाट नियमित स्वास्थ्य परीक्षणसँगै १० शय्याको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिसलगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरेलगायतका सेवा सञ्चालन भइरहेका छन् ।

दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका आइसीयू र भेन्टिलेटर विगत पाँच वर्षदेखि थन्किएका छन् । सरकारले जनशक्ति दिएर तिनलाई समेत प्रयोगमा ल्याउन पाए अस्पतालको विश्वास अझै बढ्ने डा बास्तोला बताउछन् ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-