दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २९ साउन । मुलुक भरि नै मलको अभाव कुनै नौलो कुरा होइन्, वर्षेनी रासायनीक मलको अभाव बाट यहाँका किसानहरु विभिन्न पिडाहरु भोग्दै आएका छन् । सरकारले मल ल्याउने जति प्रयास गरेपनि मल अपर्याप्त नै हुन्छ ।
यसै क्रममा आईतबार वीरगञ्ज महानगरपालिका वडा नं. १६ भुटनदेवी स्थित कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय बाट ६ वटा ट्रक मल बोकेर अन्य जिल्लामा जाने तरखरमा थिए । कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार ति ट्रक पर्वत, पोखरा, हेटौडा, चपुर लगायतका स्थानमा जानका लागि तयारी अवस्थामा थिए । त्यत्तिकैमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सँगै यहाँका किसानहरु त्याहाँ पुगेर ट्रकलाई अघि बढ्नबाट रोकेका छन् । ट्रकलाई रोक्नुका साथै उनीहरुले मल बोकेका ट्रक नियन्त्रणमा लिएका छन् । मेयर सिंहकै अगुवाईमा ति ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित बाल मन्दिर प्राङ्गनमा राखिएको छ ।
बिगत लामो समय देखि मलको अभाव भएको पटक पटक किसानहरुले मांग गर्दा पनि नसुन्ने सरकारलाई सचेत गराउनका लागि मल बोकेको ट्रकलाई नियन्त्रणमा लिइएको मेयर सिंहले बताए । आक्रोशित हुँदै उनले थपे, “यहीँबाट मल देशैभर वितरण हुने तर यहाँकै किसानले नपाउने, धुलो मात्रै खाने । यही बाटो भएर अरु जिल्लामा गइरहेको हेरेर चित्त बुझाउन अब हामी सक्तैनौ, सरकारले पनि यस बारेमा गम्भिर रुपमा सोच्न आवश्यक छ, नत्र मल खरिद गर्ने र वितरण गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ । हामी आवश्यकता अनुसार मल वितरण गर्छौं ।”
त्यस्तै ८ हजार मेट्रिक टन चाहिएको ठाउँमा ८ सय मेट्रिक टन पठाउँदा कसलाई दिने, कसलाई नदिने भन्दै उनले प्रतिप्रश्न समेत गरेका छन् । उनी थप्छन्, “वीरगञ्ज बासी र पर्साका किसानले आवश्यकता अनुसारको मल पाएपछि मात्रै हामी यहाँ बाट अन्यत्र जान दिन्छौ, नत्र दिँदैनौँ ।”
कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख चन्द्र प्रसाद चौलागाईले १६ वटा जिल्लामा निश्चित तोकिएकै परिमाणमा मल पठाउने गरेको जानकारी दिए । मल अभाव भएको थाहा हुँदा हुँदै पनि तोकिएकै परिमाण बाहेकको मल कसैलाई दिन नसकिने उनले बाध्यता सुनाए । चौलागाई भन्छन्, “मल यतिले पुग्दैन भन्ने कुरा मलाई पनि थाहा छ, अनि सरकारलाई पनि । तर हामी केही गर्न सक्तैनौ । जबसम्म सरकारले नै मात्रा बढाएर दिँदैन तबसम्म हामी सरकारी कर्मचारीले मात्रै चाहेर मल बाँड्न मिल्दैन ।”
त्यस्तै प्रादेशिक मन्त्रालयबाट प्राप्त भएको ८ सय २३ टन मल आजदेखि पर्सा जिल्लामा वितरण गर्न थालिएको पनि उनले जानकारी दिए । करिब १७ हजार बोरामध्ये वीरगञ्ज महानगरका लागि २७ बोरा मल भागमा परेको उनको भनाई छ । पर्सा जिल्ला र वीरगञ्ज महानगरको लागि यसअघि तोकिएको मलको कोटा बढाउने तयारी भइरहेको छ । अहिले पनि यस विषयमा छलफल भइरहेको उनले बताए ।