दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ११:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १२, मूर्ली स्थित सडक खण्ड र सोही राति करिब ०१:१४ बजेको समयमा वडा नं. १४, गण्डक चोक स्थित सडक खण्ड बाट अबैध सामानहरू सहित तीन वटा मालवाहक ट्रकहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले ना. ४ ख ८७४० तथा ना. ३ ख ६०९५ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी  वीरगञ्ज बाट काठमाण्डौ र मोरङतर्फ जादै गरेको अवस्थामा अंदाजी मूल्य रू. १ करोड ३१ लाख ७१ हजार ३ सय ०९ बराबरको तथा ना.८ ख ७२४१ नम्बरको मालवाहक ट्रकमा औषधी लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्ज बाट धनुषा तर्फ जादै गरेको ट्रकमा अंदाजी मूल्य रू. ३१ लाख ६८ हजार ५ सय २० बराबरको ती मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिइ चेक जाँच गर्दा साथमा रहेको विल विजक संकाष्पद देखिएको तथा विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको हुँदा जम्मा अंदाजी मूल्य  रु. १ करोड ६३ लाख ३९ हजार ८ सय २९ बराबरका  खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।