
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०६ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्साले बिहिबार दिउँसो करिब ०३:०० वजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ०९ स्थित जिल्ला प्रशासन कार्यालय, पर्सा बीरगंजको गेटमा रहेको फ्रेस फोटो स्टुडियोको सञ्चालक सद्दाम हुसेन सहित ४ जना लाई ठगीको कसुरमा गिरफ्तार गरेको छ ।
पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले शुक्रबार जनाए अनुसार पर्सा कै धोवनी गाउँपालिका बस्ने वर्ष २१ को सागिर आलमसँग राहदानी फारम भर्नको लागि रु. २ सय तथा राहदानी १४ दिन भित्र मँगाई दिन्छु भनी रु.२ हजार ५ सय आज भन्दा ६ दिन अगाडि लिएको हुँदा निज सागिर आलम आज निजको स्टुडियोमा गई निजसँग सो सम्बन्धमा सोधपुछ गर्दा पुन: राहदानी मँगाउनको लागि रु. २ हजार ५ सय माँग गरेको भनी पीडित सागिर आलमले यस कार्यालयमा जानकारी दिए पश्चात यस कार्यालय मातहत रहेको वडा प्रहरी कार्यालय विर्ताबाट टोली गई बुझ्दा निज सागिर आलमसँग पैसा ठगी गरेको भनी खुल्न आएको हुँदा सो कार्यमा संलग्न रहेका तथा सोही प्रकृतिका कार्यमा संलग्न रहेका बीरगंज महानगरपालिका वडा नं. २४ बस्ने गणेश मोबाईल सेन्टरका संचालक वर्ष २२ को रंजित गुप्ता, वडा नं. ०९ रानीघाट वस्ने चन्दन मोबाईल सेन्टरका संचालक वर्ष २४ को कुन्दन यादव, वडा नं. ०९ वस्ने गढीमाई स्टुडियोका संचालक वर्ष ३० को प्रदिप साह तथा वडा नं. १० रानीघाट वस्ने फ्रेस फोटो स्टुडियोमा काम गर्ने वर्ष ३८ को फैयाज आलम लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको कुरा सूचना अधिकारी कार्की ले बताएका छन् ।