दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ पुष । भारत वाट अबैध रुपमा भित्रिने पशु-पंक्षीजन्य बस्तु तथा तैयारी मासु-माछा ओसार पसारमा रोक लगाए तापनि भारतबाट अबैध रुपमा भारतिय बोईलर कुखुराको चल्ला र तैयारी कुखुरा चोरी पैठारी गर्ने कार्य नियन्त्रण हुन सकेको छैन् ।

यसलाई निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा वाट थालनी गरिएको बिशेष अभियान अन्तर्गत अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

यसै क्रममा विशेष सुचनाको आधारमा खोजतलास तथा पक्राउको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब ०१:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१, डकैलाबहुअरी स्थित सडक खण्डमा भारत बाट नेपाल तर्फ अवैध रुपमा ना. ६ प ७६७२ र नम्बर उल्लेख नभएको मोटरसाईकलहरुमा भारतीय कुखुराको चल्ला ४ हजार २ सय गोटा ल्याउदै गरेको अवस्थामा त्यहाँ बाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी भागी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आजै पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत वीरगञ्ज महानगरपालिका वडा नं.१९, तिलावे खोलाको बगरमा लगी सो चल्लाहरू नष्ट गरिएको ।

साथै मंगलबार पक्राउ परेको भारतीय कुखुराको चल्ला ३ हजार ८ सय तथा ओसार पसार कार्यमा संलग्न रहेका BR 05 D 9725 र BR 05 Q 3265 नंवर मोटरसाईकल तथा बुधबार सोही स्थानबाट नम्बर उल्लेख नभएको पल्सर मोटरसाईकल र ना. ६ प ७६७२ नम्बरको मोटरसाइकलहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्दाजी मूल्य रू. ४ लाख ५० हजार मूल्याङकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको व्यहोरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।