दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०७ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्साले शुक्रबार दिउँसो करिब ०४:४६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक स्थित सडकखण्ड बाट भारी मात्रामा प्रतिबन्धित लागुऔषध सहित मानिस र कार आफ्नो नियन्त्रणमा लिएको छ ।
शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले : विशेष सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले BR 07Y 8201 नम्बरको सुजुकी मारूती अल्टो कारलाई रोकी चेक जाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा न १० बस्ने वर्ष ३१ को अनिल कुमारले उक्त कारको सिटमुनी फल्स बटम बनाई कागजले वेरी राखेको अवस्थामा लागु औषध फेनारगन ८ सय ८६ एम्पुल, डाइजेपाम १ हजार १ सय ५५ एम्पुल र नुरफिन ९ सय ७८ एम्पुल गरी जम्मा ३ हजार १९ एम्पुल तथा नाईट्राभेट १ हजार ७ सय ८५ ट्याब्लेट फेला परेको हुँदा उल्लेखित लागु औषध सहित कार र अनिल कुमारलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा प्रहरी उपरीक्षक बस्नेतले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।