नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार देखेको दाबि गरेका छन् ।
उनले भने- ‘नेपालको पहिला पार्टी नेकपा बन्छ भन्ने रिपोर्ट आइरहेको छ, देशभरीबाट, हामी त्यही अनुसार तयारीमा छौँ ।’ उनले निर्वाचनको वातावरण बनाउनको लागि आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको समेत बताए । स्वच्छ र मर्यादित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारसँग माग समेत गरेका छन् ।
नेकपाले देश जटिल र संवेदनशील परिस्थितिबीच निर्णायक निर्वाचन प्रक्रियाबाट गुज्रिरहेको बताउदै युवापुस्ताको आन्दोलनपछि उत्पन्न अवस्थालाई सामान्य बनाउन पार्टीले इमानदार, जिम्मेवार र निरन्तर प्रयास गरिरहेको बताएको छ ।
नेकापले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘सरकारले निर्वाचन घोषणा गरेपछि निर्वाचनको विरोध गर्दै केही दलले निर्वाचन नै नचाहेको अवस्थामा समेत हाम्रो पार्टीले तोकिएको समयमै निर्वाचन हुनुपर्छ भन्ने अडान दृढतापूर्वक लियो। अहिले आएर यो निर्णय बस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टी भएको छ ।’
नेकपाले सबै पक्षको सामूहिक प्रयासबाट आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको बताउदै संघर्षपूर्ण इतिहास, स्पष्ट विचार एवं एजेन्डा, भविष्यका लागि ठोस कार्ययोजना र विगतका कमी कमजोरीहरू स्वीकार गर्दै सुधारको स्पष्ट प्रतिबद्धतासहित हामी विगतदेखी नै जनतामाझ रहेकोले देशैभरी पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको बताएको छ ।
साथै नेकपाले देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको बताउदै एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका श्रृंखलाहरु चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हावी छ भने अर्कोतर्फ, जनभावनालाई निहित समूहहरुको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद रहेको बताएको छ ।
नेकपाले निहत्था युवाहरुको हत्या गर्नेहरु र निहत्था सुरक्षाकर्मी तथा नागरिकलाई आगोमा जल्न बाध्य पार्ने तथा राजनीतिक लाभका लागि उपयोग गर्ने दुबै प्रकारका अतिवादको सशक्त विरोध गर्ने बताउदै यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रीय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक छन् भन्ने स्पष्ट धारणा रहेको उल्लेख गरेको छ ।
साथै नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने बिभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउदै केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेको र यस प्रकारका गतिविधिप्रति पार्टीले कडा आपत्ति जनाएको र सबै सञ्चारमाध्यमलाई पत्रकारिताको मूल्यमान्यता, मर्यादा तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।








