पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

काँक्रेविहार (सुर्खेत), ७ साउन : विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । यो भन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो ।

डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताउनुभयो । अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ । यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पु-याएपछि दुवैपटक पुनःनिर्माण गरिएकोे थियो । यस पटक पुनः भूकम्पले पूर्णरुपमा क्षति पु-याएपनि पुनःनिर्माण हुन सकेको छैन ।

दरबार पुनःनिर्माणका लागि विसं १९९० पछि भक्तपुरका नेवार तत्कालीन इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुनःनिर्माण गरिएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण मानिन्छ । यो जाजरकोटको मात्र नभएर कर्णालीको मुख्य पर्यटकीय गन्तव्य हो । दरबारमा क्षति पुगेपछि जिल्ला प्रशासनलगायतका सेवा प्रवाह प्राङ्गणमा सारिएको छ । केही दशकयता जाजरकोट दरबार भनेर चिनिने यो भवनमा प्रशासन कार्यालय रहेको थियो । प्रशासनसँग समन्वय गरेर काम गर्नुपर्ने अरू केही सरकारी कार्यालय यही भवनमा थिए ।

भित्र जोखिम भएपछि नियमित काम गर्न प्राङ्गणमा अस्थायी संरचना बनाइएको छ । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यो पटक दरबार चर्किएको मात्र छ । केही वर्षअघि सरकारद्वारा सूचीकृत एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि समावेश छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको ऐतिहासिक दरबार भूकम्पले जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । “दुईपटक भत्किसकेको दरबार अहिले उस्तै जोखिममा परेको छ, जिल्लाको इतिहास जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनःनिर्माण गरिएको थियो, अब यसरी समयमै पुनःनिर्माण गर्न सहज छैन”।

योभन्दा ९० वर्षअघि विसं १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरेर दरबारको निर्माण गरिएको इतिहास छ । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई विसं १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबारमा पनि अहिले सरकारी कार्यालय छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंक रहेको रातो दरबारमा अहिले जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार निर्माण गरेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर सेतो दरबार बनाएका थिए । यो दरबार बनाउँदा जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । राजाले जनतालाई श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए ।

जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति विसं २०४५ सालमा भोगेको थियो । उदयपुर केन्द्रविन्दु रहेको उक्त भुकम्प छ दशमलव नौ रेक्टर स्केलको थियो । त्यसले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । उक्त क्षतिको विसं २०५१ मा पुनःनिर्माण गरिएको थियो ।

जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । राजेन्द्रविक्रम शाहका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि सरकारी कामकाज हुँदै आएको हो । २०१७ सालमै प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबारको भवन बिक्रि गरेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो ।

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका दुईवटा घरलाई पनि स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले विसं १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवर्द्धन शाह, अमरबहादुर शाह, नरशम्शेर शाह र नरजंग शाहले विसं १९५० सालमा बनाएका हुन् । दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि नभइ राजाका भाइछोरा बस्न भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ–छोराहरू धेरै भएर उनीहरूका आवास व्यवस्थापन गर्न ती घरहरू बनेको शाहको भनाई छ ।

यसअघिका दुवै भूकम्पबाट जोगिएका यी दरबार यसपटक भत्किएका छन् । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि भूकम्पले तहसनहस छन् ।

  • Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-