काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो ।
जसअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही महिनामा ११.६४ प्रतिशतले जग्गा कारोबार बढेको पाइएको छ । घरजग्गा कारोबार बढेसँगै यस अवधिमा राजस्व संकलनसमेत बढेको छ । साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ।
गत आर्थिक वर्षको सो अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ।
घरजग्गा कारोबारमा सरकारले सेवा कर, पुँजीगत लाभ कर, रजिस्ट्रेसन दस्तुर लगायतका कर उठाउने गरेको छ । चालु वर्ष घरजग्गा कारोबारबाट राजस्व संकलन बढेसँगै सरकारको समग्र राजस्व संकलनमा टेवा पुर्याएको छ ।