‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

टीकापुर (कैलाली), २५ असारः लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो । “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पु¥याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताउनुभयो । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिनुभयो । “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उहाँले भन्नुभयो, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”

नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताउनुभयो । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् । बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताउनुभयो । “खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला ?”, उहाँ भन्नुहुन्छ, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ । त्यसैमाथि सडक सहारा भएको छ ।”

यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन् । टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । “मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौँ, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो”, उहाँले भन्नुभयो, “अहिले पनि बस्ती जलमग्न छ । डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन ।”

टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।

डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

  • Related Posts

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-