दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा मंगलबार राति करिब १०:०० बजेको समयमा वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. ०७ ख ५८५२ नम्बरको मालवाहक ट्रकलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती स्थित सडक खण्ड बाट रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रु. २ करोड ५५ लाख ३२ हजार ७ सय ७४ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा मालसामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।

साथै बुधबार वीरगञ्ज महानगरको सिमावर्ति क्षेत्रबाट चोरी पैठारीका खाद्यान्न तथा विभिन्न किसिमका लत्ताकपडाहरू अन्दाजी मूल्य रु. १ लाख ४० हजार ५ सय २५ बराबरको मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा समेत डीएसपी गिरीले जानकारी गराएका छन् ।