दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १२ जेठ । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका नवनिर्वाचित मेयर, उपमेयर र अन्य जनप्रतिनिधिले बिहीबार सामुहिक सपथ ग्रहण गरेका छन् ।

पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका उपमेयर इम्तियाज आलमले सपथ ग्रहण गर्न लागेका हुन् । बिहीबार दिउँसो ०५:०० बजे वीरगञ्जस्थित पूरानो बस पार्कको खुला मैदानमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको थियो । उनलाई पर्साका मूख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

नवनिर्वाचित नगरप्रमुख सिंहले बन्द कोठामा नभई नगरवासीकाबीच सपथ लिने इच्छा जाहेर गरेपछि नगरको बीचमा रहेको पूरानो बसपार्कको खुला स्थानमा सपथग्रहण कार्यक्रम राखिएको थियो । सपथ ग्रहण पश्चात नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमले आजै पद बहाली गरेका छन् ।

सिंह वीरगञ्जका निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार ४ सय ४४ मतान्तरले पराजित गर्दै बिजयी भएका छन् । सिंहले ४६ हजार २ सय १५ मत पाउँदा सरावगी २३ हजार ६ सय ७१ मतमै सिमित भएका थिए ।

त्यसैगरी उपमेयरमा आलमले आफ्नो निकटम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झालाई २० हजार ५ सय १० मतले पराजित गरेका छन् । आलमले ३० हजार ७८ मत ल्याउँदा झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । वीरगञ्जको ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले १०, नेकपा एमालेले ७ र लोसपाले २ वटामा जित हासिल गरेको छ भन्ने उप मेयर लगायत ३२ औं वडाका वडा अध्यक्ष सहित सदस्यहरू लाई पनि नव निर्वाचित मेयर सिंह ले गोपनीयता को सपथग्रहण गराएका छन् ।