दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०१ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा कार्तिक २४ गते राती करिव १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ स्थित सिटी मार्केट बाट नेपाली नक्कली नोट सहित दुई जना व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन सिटी मार्केट बाट कपडा खरिद गर्ने क्रममा नक्कली नोटहरू दिएको सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानमा गई सो स्थानमा दुई जना अपरिचित व्यक्तिहरूलाई कानूनी रीतपुर्याई खानतलासी गर्दा बारा जिल्लाको कलैया उप महानगरपालिका वडा नं. ०३ बस्ने वर्ष २५ को उमेश कुमार र बीरगंज महानगरपालिका वडा नं. ३१, कोनिया बस्ने वर्ष २४ को ऋषिलाल पटेलको साथबाट नेपाली नक्कली नोट रू.१ हजारको दरका ३८ थान गरि रू. ३८ हजार फेला परेको हुँदा उल्लेखित नक्कली नोटहरू बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइ खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले शुक्रबार बताएका छन् ।