बेनी-जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू

म्याग्दी । सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत स्तरोन्नतिको चरणमा रहेको सडकको म्याग्दी खण्डको यात्रा मुस्ताङको तुलनामा असहज छ ।

कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरूले यात्राको दुःख, कष्ट भुलाइदिने गरेको यात्रुहरू बताउँछन् । ‘गाडीबाटै देखिने झरनाहरू बेनी–जोमसोम सडकका गहना हुन्’, मुस्ताङ घुमेर फर्किनु भएका बेनीका विनोद खत्रीले भने, ‘झरनाहरूको सौन्दर्यले यात्राको दुःख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ ।’

बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना छ । बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सिमाना भएर बग्ने पुम्दी खोलाको छहरा देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गर्छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा भुल्ने गर्छन् ।

पहिले सुनसान हुने महभिर झरनामा भीडभाड हुन थालेको स्थानीयवासी कृष्ण पुनले बताए । पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ ।

झरना परिसरमा पुग्दा गर्मी याममा शीतल हुन्छ । गर्मी छल्न पनि महभिर झरना उपयुक्त गन्तव्य हो ।

झरनाको फेदीमा बनाइएको पोखरीमा पौडी खेल्न र माछा मार्न सकिन्छ । झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै नहुने बेनीका किरन कार्कीको अनुभव छ ।अन्नपूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ ।

सडकदेखि झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण भएका छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन् । सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो ।

सडकको नागढुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ । बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से यस सडकमा यात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण हो । अन्नपूर्ण तथा धौलागिरि हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने यात्रुले सवारी साधन रोकेर यस छहरामा आराम गर्छन् ।

कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला बीचको छ हजार नौ सय ६७ मिटर गहिरो खोचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि/कलाकारले सयौँ कविता र चित्र कोरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रुप्से झरनामा पूर्वाधार निर्माण गर्न ठेक्का सम्झौता भइसकेको र अन्य झरनालाई पनि व्यवस्थित बनाउन पहल गरिरहेको जानकारी दिए ।

रुप्सेमा पर्यटन पूर्वाधार निर्माण गर्न रु तीन करोड ६५ लाख बराबरको लागत अनुमान गरिएकामा तीन करोड २३ लाख ५५ हजार तीन सय ६९ मा सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको छ ।

गत जेठ ३० गते भएको ठेक्काको म्याद विसं २०८२ पुष २५ गते सम्म छ । रुप्से झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भर्‍याङ, पदमार्ग र खाजा घर लगायतका पूर्वाधार निर्माण गरिने गाउँपालिकाका सब–इञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्टसमेत निर्माण गरिने जनाइएको छ ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-