दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, १४ चैत । नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद साहबुद्दिनको घरमा प्रहरीले छापामारी गरेको छ । लेनदेन मुद्धामा फरार रहेकी साहबुद्दिन को श्रीमती नजमा बेगमलाई खोजतलास गर्न प्रहरीले उनको घरमा छापामारी गरेको हो ।
श्रीमतीको नाममा साहबुद्दिनले कलैया उपमहानगरपालिका वडा नं. ०४ निवासी दिपु प्रसाद गुप्ता सँग लाखौँको लेनदेन गरेका थिए ।
जिल्ला अदालत, बाराले गत फागुन ०४ गते गुप्ताको पक्षमा फैसला गर्दै प्रतिवादीलाई पक्राउ गरि विगो भराउन आदेश गरेको थियो । अदालतको आदेश अनुसार नै चैत ०१ गते बिहीबार अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साले नजमालाई पक्राउ गर्न बुधबार घरमा छापामारी गरेको हो ।
छापामारी गर्न प्रहरीको टोली नै साहबुद्दिनको घरमा पुगेको थियो । घर खानतलासी गर्दै नजमाको खोजी गरेको भए पनि पहिले नै भगाइसकेकाले अहिले फेला नपरेको तर कहीँ गए पनि पक्राउ गरिछाड्ने पर्सा प्रहरीले जनाएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी पाएसँगै साहबुद्धिनले श्रीमतीलाई भगाइसकेका थिए ।
कांग्रेसको खोलमा साहबुद्दिनले वीरगंज महानगरपालिका कै अधिनमा रहेको आदर्शनगर स्थित ०-१-० कट्ठा जग्गा श्रीमतीको नाममा गराएर जिपी फाउण्डेसनको कार्यालय खोलेर व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएका थिए । तर किर्ते गरेर कब्जा गरेको उक्त जग्गा अदालतबाट मुद्धा जितेर अहिले महानगरपालिकाले आफ्नो अधिनमा लिइसकेको छ ।
लेनदेन मुद्धामा अहिले श्रीमती फरार रहेको र साहबुद्दिन माथि पनि दोहोरो नागरिकता लिएको अभियोगमा अदालतमा मुद्धा चलिरहेको छ । उच्च अदालत वीरगंजले दोहोरो नागरिकता मुद्धाको सन्दर्भमा साहबुद्दिनलाई बयानका लागि झिकाउन आदेश समेत दिइसकेको छ ।