मुस्ताङ यात्राको थकान मेटाउने भुरुंग तातोपानी

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुंग-तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे ।

“मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उनले भने “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उनी जस्तै बेनी-जोमसोम सडक भएर मुस्ताङ जाने-आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुंग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ ।

तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरू तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरूको पनि सङ्ख्यामा वृद्धि भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताए । “बर्खा रोकिएपछि मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्”, उनले भने “याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन् ।”

बेनी–जोमसोम सडकको छेउमा तातोपानी संकलन गरिएको दुई वटा पोखरी र धाराहरू बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु. ५० र विदेशीलाई रु. एक सय ५० शुल्क तोकिएको छ ।

कुण्डमा प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा रु. ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो ।

भुरुंग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका-५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु. २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुंग-तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुंग पुल निर्माण भएको छ ।

उनीहरूले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ ।

कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राविधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । होटलमा एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ ।

यसअघि कुण्डको कुनातर्फबाट खोलिएको बेनी-जोमसोम-कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्सांकन परिवर्तन गर्न स्थानीय बासी, जनप्रतिनिधि र सरोकारवालाहरूले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डभन्दा तलपट्टिबाट सडकको नयाँ नक्सांकन गरिएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 119 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-