मुनामदन सिलवाल/ तस्बिर : बौद्धली भान्जा
काठमाडौं, ९ भदौ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल मैजुबहालमा अवस्थित मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थाले १७ औं बार्षिक साधारण सभामा भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाले गत शनिबार सम्पन्न गरेको साधारण सभामा सदस्यलाई सम्मान गर्नुका साथै बार्षिक रुपमा प्रदान गरेको राहतका बारेमा जानकारी दिइएको थियो ।
सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष धनेन्द्र बिमल क्षेत्रीले २०६४ सालमा दर्ता भएको संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा लागि परेको बताउनुभयो । ‘शेयर सदस्यको खुशी नै संस्थाको प्रगति हो’ भन्ने मूल भावनाबाट परिचालित भएर संस्थाले वित्तीय कारोबार गर्दै आएको र सदस्यहरुको विश्वासका कारण संस्था निरन्तर अगाडि बढेको बताउनुभयो । पछिल्लो समय केही सहकारी संस्थाका सञ्चालकको गलत नियतका कारण सदस्यहरुको बचत जोखिममा परेको भए पनि यस संस्थामा गरेको बचत सुरक्षित रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । संस्थाले वित्तीय पारदर्शिताका साथै सहकारी सिद्धान्तलाई पालना गरेर अगाडि बढेकाले सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न उहाँको आग्रह छ ।
काठमाडौं महानगरपालिका सहकारी विभागले संस्थाको हालै मात्र अनुगमन गरेको र अनुगमनका क्रममा समेत संस्थाको वित्तीय स्वास्थ्य अवस्था स्वस्थ र चुस्तदुरुस्त रहको प्रमाणित भएको उहाँले सभामा जानकारी गराउनुभयो । संस्थाले कर्जा लगानी र असुलीलाई सुरक्षित बनाउन लागि परेको भन्दै अध्यक्ष क्षेत्रीले सट टर्ममा सरभाइव, मिडियम टर्ममा रिभाइवल र लङ टर्ममा ग्रोथको नीति अँगालेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष माधव ढुङ्गेलले आर्थिक बर्ष २०८० र ८१ को आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बार्षिक कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाले बचत र ऋणमा ६ प्रतिशत स्प्रेडदर कायम गरी अगाडि बढेको र ऋण लगानीमा १४.७५ प्रतिशत ब्याजदर कायम गरेको उहाँले बताउनुभयो। संस्थाले सन्दर्भ ब्याजदर भन्दा पनि कम दरमा ऋण लगानी गरेकाले बचतकर्ताको आकर्षण बढेको र ऋणको माग पनि बढेर गएको उहाँले जानकारी दिनुभयो ।
सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मविक्रम गुरुङले समितिको प्रतिवेदन प्रस्तुत गर्दै गत साधारण सभामा भएको अधिकांश निर्णयहरु कार्यान्वयन भएको र बजेट तथा कार्यक्रमको आधारमा संस्था सञ्चालन भएको पाइएको बताउनुभयो । संस्थाले सदस्यहरुलाई बचत ऋणका साथै रेमिट्यान्स तथा युटिलिटी पेमेन्ट सेवा प्रदान गर्दै आएको छ ।
वि.सं. २०७५ सालबाट संचालन गरेको मैजुबहाल कल्याणकारी कोषबाट सदस्यहरुलाई औषधी उपचार, मृत्यु संस्कार खर्चका साथै सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको जनाइएको छ । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म कोषबाट २ लाख ८७ हजार नगद वितरण गरेको जनाएको हो ।
गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी १ करोड ३६ लाख ७३ हजार, बचत ४ करोड १० लाख ७६ हजार र ऋण लगानी ५ करोड २१ लाख ९९ गरी कूल कारोबार ६ करोड ७५ लाख ८८ हजार पुगेको सभामा जानकारी दिइयो । संस्थाले कर्जा जोखिम कोषमा ३१ लाख ८९ हजार रकम छुट्याएको छ । संस्थाले गत आर्थिक बर्षमा ६ लाख २८ हजार नाफा गर्न सफल भएको छ ।
संस्थाले उक्तबाट १६ जनाले उपचार खर्च, २ जनालाई मृत्यु संस्कार खर्च र ५ जनालाई विचार खर्च प्रदान गरेको सभामा जानकारी दिइयो । सभामा शेयर सदस्यका छोराछारी मध्ये एसईईमा उत्कृष्ट अंक ल्याउन सफल एन्जिलिसा पौड्याल र अनुसुया ढुङ्गेललाई नगद तथा प्रंशासपत्रले सम्मान गरिएको थियो भने सभाको सञ्चालन संस्थाका उपाध्यक्ष मधुसुदन ढुङ्गेलले गर्नुभएको थियो ।