नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बुझाएको लिखित बयानमा भदौ २४ गते नेपाली सेना परिचालन गर्न प्रायस गरेपनि त्यो सम्भव हुन नसकेको उल्लेख गरेका छन् ।
जाँचबुझ आयोगमा दिएको लिखित बयानमा उनले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको र आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।
त्यसै ओलीले आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको र २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको बताएका छन् ।
त्यस्तै ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको आफ्नो जवाफमा उल्लेख गरेका छन् ।
आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा ओलीलाई विदेश भ्रमणमा रोक र अनुमति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै विदेश भ्रमणमा रोक र स्थान हद सोमबार फुकुवा गरेको छ ।
ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।







