दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २१ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले  यातायात व्यवस्था कार्यालय, पर्सा बाट ११ जना बिचौलियाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी का अनुसार त्यस कार्यालयमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने भन्ने पटक पटक जनगुनासो प्राप्त हुन आएकोले मंगलबार  दिउँसो ०१:०० बजेको समयमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं.१२, रानीघाट बस्ने वर्ष २५ को आलोक कुमार यादव, वडा नं.१३ बस्ने वर्ष ४५ को किशोर कुमार दयाल, वडा नं.१५ बस्ने वर्ष ४० को दिपलाल साह र वर्ष ४६ को रामबाबु झा यसैगरी वडा नं.३ बस्ने वर्ष ३७ को रंजित गुप्ता, वडा नं.११ बस्ने वर्ष २३ को लालबाबु महतो, वडा नं.११ मुर्ली बस्ने वर्ष ४५ को राजेश लामा, पर्सा जिल्ला कै कालिकामाई गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ४० को राजेश महतो, बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०५, नौतन बस्ने वर्ष ४५ को दरोगा दास, बारा जिल्ला कै प्रसौनी गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष ३० को मुकेश साह तथा वडा नं. ०३, नौतन बस्ने वर्ष २५ को दिपु महतो तत्मा लाई फेला पारी नियन्त्रणमा लिइ निजहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा जिल्ला प्रशासन कार्यालय, पर्सा बाट सात दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको कुरा पनि सूचना अधिकारी बुढाथोकी ले बताएका छन् ।