रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान

सुर्खेत । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ । रू. १६ अर्बमा आयोजनाको पुनः ठेक्का आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।

पहिलो पटक गत जेठ २० गते सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का आह्वान गरिएको थियो । आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत सातवटा कम्पनीले आवेदन दिएका थिए । उक्त ठेक्कामा कुनै पनि कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि पुस २१ गते ठेक्का रद्द गरिएको हो ।

यो आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नवील बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सह-वित्तीय करण (कन्सोर्टियम फर्म) को नेतृत्व नबिल बैंकले गर्दै रू. चार अर्ब ४० करोड लगानी गरेको छ । सह-वित्तीय करणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआइडिसीएलले रू. चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रू. चार अर्ब, लक्ष्मी सन्राइज बैंकले रू. दुई अर्ब र एभरेष्ट बैंकले रू. एक अर्ब ५० करोड लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि रू. २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रू. १६ अर्ब ऋण र रू. सात अर्ब इक्विटी (शेयर)बाट जुटाउन लागिएको हो ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच अघिल्लो वैशाख २८ गते पिपीए भएको थियो । आयोजनासम्म पुग्ने पहुँच मार्ग निर्माणको काम भइरहेको छ । नौ वटा बेलिब्रिज बनाउनुपर्छ । जसको काम सुरु भइसकेको कम्पनीले जनाएको छ । धेरैजसो पूर्वतयारीका कामहरू अन्तिम चरणमा रहेको बताइएको छ ।

यस आयोजनाबाट निर्माण थालेको पाँच वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्त्वपूर्ण रहेको छ । कम्पनीले एक सय २० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ ।

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माण कार्य सुरु हुने तयारीमा छ । भौतिक पूर्वाधार विकासले पछाडि परेको कर्णालीको डोल्पामा बन्न लागेको यो आयोजनाले विकासको ढोका खोल्ने विश्वास लिइएको छ ।

यो आयोजना निर्माण हुने भएपछि यस क्षेत्रमा सडक सञ्जाल विस्तार भएको छ । दूरसञ्चारको पहुँचबाट टाढा रहेको स्थानमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत पुगेको छ । आयोजनाका कारण स्थानीय उत्पादनको बिक्री वितरण बढ्दो छ । रोजगारीको खोजीमा काला पहाड चहार्नुपर्ने डोल्पालीले थोरै मात्रामा भए पनि घर आँगनमै रोजगारीको अवसर प्राप्त गर्ने विश्वास लिएका छन् ।

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्ने गरी शेयर संरचना तय गरिएको छ । पहिलो पटक प्रसारण लाइन प्रभावितका लागि समेत शेयर लगानी गर्न सक्ने गरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक सेयर धनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ । यस्तै एचआइडिसीएल को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्के चुला गाउँपालिकाले समान एक-एक प्रतिशत बराबरको शेयर स्वामित्व छ । सर्वसाधारण सेयर धनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन-तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड सात सय ८९ दशमलव छ मिटर छ । आयोजनाले छ सय २३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ ।

यस्तै जगदुल्ला गाउँपालिका-१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्के चुला गाउँपालिका-४ इलमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिने छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यस कारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुड्केचुलाको इल पुग्नका लागि सडक निर्माण भएको छ । हाल त्रिवेणीमा पुल निर्माणको काम जारी छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण पुल निर्माणले भने गति लिन सकेको छैन । त्यस्तै आयोजनाबाट उत्पादित बिजुली जाजरकोटको नलगाड नगरपालिका-७ दानी पिपलमा निर्माण हुने चार केभी क्षमताको सबस्टेशनमा जोडिनेछ ।

सो आयोजनासँगै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको पनि अध्ययन जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय अध्ययन, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । यस आयोजनाको कूल लागत रू. २७ अर्ब जति रहने अनुमान गरिएको छ ।

त्यसैगरी २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययन कार्य सुरु भएको छ । आयोजनाको निर्माणपछि वार्षिक रूपमा रू. चार अर्ब ८० लाख बराबरको आम्दानी हुनेछ । त्यसबाट संघीय सरकारले वार्षिक रूपमा रू. १९ करोड २३ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले रू. नौ करोड ६१ लाख र मुड्के चुला र जगदुल्ला गाउँपालिकाले रू. नौ करोड ६१ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ ।

प्रसारण लाइन प्रभावितले आयोजनाको शेयर पाउने भएकाले थप सहज हुने र स्थानीय वासीमा आयोजनाप्रति अपनत्वको महसुससमेत हुने विश्वास लिइएको छ ।

भौतिक विकासमा पछाडि परेका ती स्थानीय तहले एउटा आयोजनाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्ने विश्वास छ । त्यस्तै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ आयोजनाको निर्माणपछि रोयल्टी बढेर रू. २० करोड बराबर पुग्नेछ । आयोजनाले रू. एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ ।

यो आयोजना सम्पन्न भएसँगै विकासमा पछाडि परेको डोल्पामा नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्त्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

हाल कोहलपुर सुर्खेत प्रसारण लाइनबाट समग्र कर्णाली प्रदेशभर नै बिजुली प्रवाह भइरहेको छ । लामो र कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीय बिजुली कर्णाली प्रदेशवासीले पाउन सकेका छैनन् । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणपछि गुणस्तरीय र भरपर्दो बिजुलीसमेत कर्णालीवासीले पाउने विश्वास लिएका छन् । आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेत समेटिएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-