दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, ०४ भदौ । राप्रपा नेपाल, ललितपुर जिल्ला कार्य समितिले शनिवार लगनखेलबाट निकालेको जुलुस जावलाखेलमा पुगेर आमसभामा परिणत भएको थियो ।

महंगी, भ्रष्टाचार, लूटतन्त्र र बेरोजगारीको अन्त्यको जोडदार माँग गर्दै जुलुसले बढ्दो धर्मान्तरणलाई रोक्नका लागि सरकारसॅग माग गरेको छ ।

देशको अन्तराष्ट्रिय पहिचानका लागि सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको नारा लगाउॅदै जुलुस चुनावी अभियानमा परिणत भएको आमसभामा अध्यक्ष कमल थापाले भन्नुभयो, “राप्रपा नेपालका २५ सदस्यले संविधानसभामा जोडबल गरेर अपरिवर्तनीय संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गराई संविधानभित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र  ३ तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्ग प्रसस्त गराएको हो । यसका लागि हामी बाहेक अरू कसैको दावी गर्ने आधार छैन ।”

अध्यक्ष थापाले संविधानलाई परिवर्तनीय गराउने महत्वपूर्ण काम राप्रपा नेपालले गराएको हो भन्ने कुरालाई ध्यानमा राखेर आउॅदो चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन ललितपुरका जनसाधारणलाई आग्रह गर्नु भयो ।

जिल्लाका कार्य वाहक अध्यक्ष डिपी दाहालको सभापतित्वमा भएको सो जनसभामा पार्टीका केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद तिमिल्सिनाले आउॅदो संघीय संसद र प्रदेश सभाका सवै क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार उठाउने उदघोष गर्नुभयो ।

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामांग, ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय महामंत्री भाष्कर भद्रा, केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्य, राप्रपा प्रदेश प्रमुख माधव खत्री लगायत अन्य केन्द्रीय तथा प्रदेश एवं जिल्लास्तरीय पदाधिकारीहरुको उपस्थिति थियो ।

राप्रपा नेपाल गत २०७८ फागुन ७ गते पुनजागृत भएपछि आज भएको कार्यक्रम पार्टीको ललितपुर जिल्लामा आयोजित पहिलो सार्वजनिक सभा हो । जुलुसमा उल्लेख्य स्थानीय जनताको सहभागिता रहेको थियो ।