दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३१ श्रावण । राष्ट्रपति विद्यादेवि भण्डारीले अमूक राजनीतिक शक्तिको इशारामा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको भन्दै वीरगञ्जमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । संसदको दुबै सदनबाट पास भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विद्येयकलाई राष्ट्रपतिले संसदमै फिर्ता पठाईदिएपछि कांग्रेसले विरोध जनाएको हो।

नेपाली कांग्रेस क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिको आयोजनामा वीरगञ्जमा विरोध प्रदर्शन तथा सचेतना सभा गरिएको हो । विरोध अन्तर्गत नगरपरिक्रमा पछि घण्टाघरमा सचेतना सभा गरिएको थियो । जहाँ कांग्रेसका नेता/कार्यकर्ताले महामहिमको मनपरी सहिँदैन, नागरिकता प्राप्तिको आन्दोलन रोकिँदैन, राष्ट्रपतिको पद देश जोड्नका लागि हो, तोड्नक लागि होइन, खोक्रो राष्ट्रवादले देश बन्दैन, लगायतका नारा लगाएका थिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजय कुमार चौरसियाले सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भएको नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण बिना नै फिर्ता पठाउनुलाई भेदभाव र अन्यायको संज्ञा दिनुभयो । नागरिकताको अभावमा वर्षौ देखि समस्यामा परेकाहरुलाई राष्ट्रपतिको यो कदमले झनै समस्यामा पारेको वहाँको भनाइ थियो । सचेतना सभाको प्रमुख अतिथीसमेत रहनुभएका चौरसियाले केपी ओली नेतृत्वको नेकपा एमालेको उक्साहटमा विधेयक फिर्ता गरिएको भन्दै राष्ट्रपतिको कदमको आलोचना गर्नुभयो । विद्येयक पारित नहुँदासम्म आफूहरुको विरोध जारी रहने पनि वहाँको भनाइ थियो । वहाँले नागरिकता विद्येयकलाई संसदबाट पास गरी फेरि प्रमाणीकरणका लागि पठाउन माँग पनि गरेका छन् ।

मधेश प्रदेशका उर्जा, खानेपानी तथा जलस्रोत विकासमन्त्री ओम प्रकाम शर्माले संविधानको रक्षकहरुबाट नै संविधानको खिल्ली उडाउने कार्य भएको भन्दै आपत्ति जनाउनु भयो । बिक्रम सम्बत २०६४ पूर्व नागरिकता पाएकाहरुको सन्तानले नागरिकता नपाउँदा सिर्जना भएको समस्याको अन्त्य गर्ने विद्येयकलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले जनभावनामाथि चोट पुर्याएको टिप्पणी गर्नुभयो । एमालेले गर्दै आएको प्रत्येक प्रतिगमनकारी कदममा साथ दिने राष्ट्रपतिले राष्ट्रको हितमा चालिएको कदममा साथ नदिनु अशोभनीय भएको मन्त्री शर्माको जिकिर थियो ।

नेपाली कांग्रेसका नेता कञ्चन झाले जनप्रतिनिधिहरुबाट पारित भएको विद्येयक राष्ट्रपति बाट फिर्ता हुनु असंङ्गतपूर्ण भएको टिप्पणी गर्नु भयो । झाले राष्ट्रपति अमुक राजनीतिक शक्तिको मोहरा बनेर यस्तो कदम चालेको आरोप पनि लगाउनु भयो । संवैधानिक सुनिश्चितता हुँदा हुँदै पनि आफ्नै देशमा अनागरिक भई बसिरहेकाहरूलाई राष्ट्रपतिको कदमले चोट पुर्याएको झाको भनाइ थियो । “आफ्नो संवैधानिक अधिकार भन्दै राष्ट्रपतिले विधेयक फिर्ता त पठाउनु भयो । तर यसबाट संविधानले नै सुनिश्चित गरेका लाखौं नेपाली नागरिकता प्राप्तिको अधिकार बाट वञ्चित हुन्छन् भन्ने वहाँले बुझ्नु भएन ।” नागरिकता सम्बन्धि पर्याप्त कानुनको अभावमा आफ्नै देशमा अनागरिक कहलिएकाहरुको संख्या ५ लाख भन्दा धेरै भएको भन्दै झाले अवसर सृजना गर्नुपर्ने ठाउँमा शंकाको बीऊ रोप्नु लज्जाजनक भएको बताउनुभयो ।

झाले राष्ट्रपतिको कार्यसम्पादन क्षमतामाथि पनि प्रश्न उठाउनुभयो । “‘आश्चर्यको कुरा त के हो भने, केपी ओली नेतृत्वको सरकारले यस्तै प्रावधानहरु सहित ल्याएको अध्यादेश राष्ट्रपतिले रातारात पास गर्नुभयो, तर सदन बाट पास भएर आएको विद्येयकलाई फिर्ता पठाउनु भयो । यसबाट वहाँ अमुक राजनीतिक शक्तिको मोहरा बनेको प्रष्ट हुन्छ ।” झाले भन्नुभयो । यो विद्येयकले देश तोड्ने नभई जोड्ने काम गर्ने उहाँको दाबी थियो । नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जनताका प्रतिनिधिले पास गरेर पठाएको विधेयक फिर्ता गर्नु राष्ट्रपतिको गलत कदम भएको टिप्पणी गर्नुभएको थियो।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिका सभापति महम्द सहाबुद्दीनको सभापतित्वमा सम्पन्न भएको थियो ।