दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १२ असार । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान आजबाट वीरगञ्जमा सुरु भएको छ । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सानो पाईला ले अभियान सुरु गरेको छ ।

वीरगञ्जको घण्टाघरदेखि माईस्थान, आदर्शनगर, मकालु चौक हुँदै ग्रिनसिटी चोक, घडिअर्वा भएर पुनः घण्टाघरमा आएर रयाली कोणसभामा परिणत भएको थियो । रयालीमा सहभागीहरुले ‘हग्स नट ड्रग्स, लागु औषधबाट टाढा रहौँ, लागु औषध दुर्ब्यसनविरुद्ध एक हौँ, ड्रग्स् किल्स्, ड्रग्स् लाई नाई ’ लगायतका सचेतनामुलक नारा अंकित प्ले कार्ड बोकेका थिए ।

कोणसभालाई पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, रिकभरिङ्ग नेपाल मधेश प्रदेशका सभापति गौरव वर्माले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले लागुऔषध विरुद्ध सबै क्षेत्रको साझा सहकार्यमा जोड दिनुभएको थियो । लागुऔषधको क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरुलाई प्रशासनबाट पनि सहयोग रह्ने उहाँले बताउनुभयो । खुल्ला सिमानाका कारण देखिएको लागुऔषध दुर्व्यसन तथा ओसारपसारको समस्याहरुलाई अबको दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कोणसभाकै क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी ढकाल, पर्सा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोख्ररेल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, सामुदायिक पुनस्र्थापना केन्द्रका व्यवस्थापन प्रमुख साविर हुसैन लगायतकाले संयुक्त रुपमा बैलुनको गुच्छा हावामा उडाउँदै ७ दिने अभियानको उद्घाटन गरेका थिए ।

अभियानको दोस्रो दिन सोमबार “समाज सुधारका लागि सँगसँगै” नाराका साथ जिल्ला प्रहरी कार्यालय पर्सा र सानो पाइलाका बीच क्रिकेट म्याच आयोजना हुनेछ ।

लागु पदार्थसम्बन्धि समस्या कसैको पनि व्यक्तिगत समस्या मात्र होइन। यो सिंगो समाजकै समस्या हो। अत: यसका लागि समाजका हरेक जिम्मेवार व्यक्तिहरूले आफूसँग पनि जोडिएको समस्या ठानेर समाधानमा पहल गर्नु अत्यावश्यक छ। लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध सहकार्य गरौं, लागु पदार्थ प्रयोगमुक्त समाज निर्माण गरौं भन्ने अभियानको उद्देश्य रहेको छ ।