ललितपुको सुनाकोठीमा गरिएको विशेष जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा परेकामध्ये मिनी ट्रक चालक २ जना, मोटरसाइकल (सवारी साझेदारी सेवा) चालक २ जना र स्कुटर चालक २ जना रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा जाँच गर्दा उनीहरू लागुपदार्थ सेवन गरेको अवस्थामा फेला परेका हुन् । नियन्त्रणमा लिइएका चालकहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको छ ।
प्रहरीले यात्रु बोक्ने जस्ता संवेदनशील सवारी साधन चलाउने चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गर्नु गम्भीर र दण्डनीय अपराध भएको जनाएको छ । यस्तो अवस्थामा चालक मात्र नभई यात्रुको ज्यानसमेत जोखिममा पर्ने भएकाले शंका लागेमा नजिकको प्रहरी कार्यालय वा ट्राफिक नियन्त्रण कक्षको सहायता लिन अनुरोध गरिएको छ ।







