दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध गाँजा मुद्दामा फरार एक अभियुक्तलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्ला अदालतको मिति २०७४ साल माघ २८ गतेको र उच्च अदालत जनकपुर अस्थायी इज्लास वीरगञ्जको मिति २०७६ साल बैशाख ३१ गते समेतको फैसलानुसार ४ वर्ष कैद र रू. ५० हजार जरिवाना तोकिई हालसम्म फरार रहेका पर्साको साविक भौराटार वडा नं. ०३ हाल बहुदरमाई नगरपालिका वडा नं. ०७ बस्ने मिश्री भन्ने मिसिर महतो नुनियालाई यस कार्यालयबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले खोजतलासको क्रममा बुधबार दिउँसो करिब ०३:०० बजेको समयमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०७ बाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय पर्सा वीरगञ्जमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् ।