दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १८ मंसिर । प्रहरी चौकी, ईनर्वा पर्साले नियमित चेकिङ को क्रममा शुक्रबार दिउसो करिब १:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक बाट प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान ७० पीस सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको चेकिङ टोलीले भारत बाट संकाष्पदरूपमा पैदल हिंडिरहेको मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं. १४, मयूरधाप बस्ने वर्ष २८ को साजन पौडेलले बोकेको प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट फेला परेको हुँदा निजलाई र बरामद भएको लागु औषध सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको छ ।

यसै गरी सोही दिन साँझ करिब ०५:०० बजेको समयमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, पर्सा र प्रहरी चौकी ईनर्वा, पर्सा बाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्डमा भारत बाट वीरगञ्ज तर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना. ३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं. ०१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २८ को सुवास पौडेलले लगाएको हुडी भित्र बाँया हाँतको भागमा लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मिलि ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले सोमबार बताएका छन् ।
