दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०८ साउन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
आज भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल र चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ् लगायत सँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताउनुभयो ।
पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने उहाँको भनाई छ । महिला प्रमुख भएर उदाहरणीय एवम् नमुना काम गरेकै परिणामस्वरुप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाई छ ।
उहाँले भन्नुभयो, “उहाँ मेयर बन्नुको पछाडी उहाँका बुबा प्रचण्डजीको कुनै आशिर्वाद थिएन, उहाँको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उहाँले देखेको सपना र डिजाईनका कारण महानगरबासीले उहाँलाई जिताएका हुन् ।” मन्त्री यादवले थप्नुभयो, “रेणुजीले गरेका कामले उहाँलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु ।” यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक बिस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताउनुभयो ।
वन मन्त्रालयबाट अनुमती नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा गर्दै विकास निर्माणको काममा भएका वाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उहाँले निर्देशन पनि दिनुभएको छ । हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ । मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
भरतपुर की मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राख्नुभयो । नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताउनुभएको थियो । त्यस्तै उहाँले भरतपुरको भविष्यसँग जोडिएको ट्र्याल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत काम अगाडि बढाउन अनुरोध गर्नुभयो ।
त्यस्तै उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवन्धु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।