मुनामदन सिलवाल
काठमाडौैँ । ताप्लेजुङ जिल्लाको हिमाली भेग पाँच गाउँमा बसोबास गर्ने वालुङ समुदायको आफ्नै किसिमको संस्कृति रहेको पाइन्छ । उनीहरूले आफ्नो मौलिक नृत्यलाई नयाँ पुस्ताबिच पुस्तान्तरण गर्न र विश्वसामू प्रचारप्रसार गर्ने उद्देश्यका साथ त्यस क्षेत्रका युवापुस्ताहरूलाई समेटेर ‘विन्दास समूह’ समेत निर्माण गरेका छन् ।


उक्त समूहमा टासी डोमा, दावा किपा, छिरिङ भुटी, पेमा डोमा, पेमा याङडोल, छिरिङ भुटी(ख), नवाङ् गछोदेन, पेमा डोमा (ख), तेन्जिङ नाम्ग्याल, तेन्जिङ डोमा, पासाङ किपा, छिमि युडेन गरी १२ जना महिला र १ जना पुरुष दिनेशचन्द्र खनाल (सल्लाहकार) गरी १३ जना आवद्ध रहेका समूहकी एक सदस्य टासी डोमा बताउँछिन् । उनी भन्छिन् – हाम्रो मौलिक संस्कार र संस्कृतिलाई युवा पिँढीले विस्तारै बिर्सदै गइरहेको परिप्रेक्ष्यमा हामीले एउटा समूहको परिकल्पना गरी सबै युवा पुस्ता समेट्ने साझा चौतारीको रूपमा विन्दास समूहको सिर्जना गरेका हौँ । हामीसबै सदस्यहरू बराबर हैसियतले काम गर्न रुचाउँछौँ । नयाँ पुस्तालाई हाम्रो मौलिक संस्कृति सिकाउने कामलाई हामीले मुख्य प्राथमिकताका साथ अघि बढाएका छौँ ।
विन्दास समूहले पुराना पुस्तालाई सम्मान र नयाँ पिँढीलाई प्रोत्साहन गर्दै मौलिक नृत्यमार्फत राजधानीमा हुने विभिन्न कार्यक्रममा मौलिक नृत्य प्रस्तुत गरिरहेको सदस्य टासी डोमाले बताइन् ।
पुराना पुस्ताबाट हामीले मौलिक नृत्यका बारेमा सिक्दै यसलाई प्रभावकारी बनाउने उद्देश्यका साथ राजधानीमा रहेका वालुङ समुदायका सबै युवा पुस्तालाई विदाको समय मिलाएर एकैसाथ भेला भएर सिक्ने सिकाउने काम गर्न थाल्यौ । सुरुमा हाम्रो कामप्रति धेरैले नजरअन्दाज गरेका थिए । अहिले विभिन्न ठाउँमा आयोजना हुने सानो ठूलो कार्यक्रममा समेत विन्दास समूहलाई सम्झन थाल्नुभएको छ, उहाँहरुले हामीप्रति दर्शाउनुभएको सहानाभूति देख्दा खुशी लाग्छ ।
विन्दास समूहको सक्रियतामा सामाज सेवाका कार्यहरु समेत गर्दै आइरहेको समूहकी सदस्य टासी डोमाले बताइन् । उनी भन्छिन् ‘हामीले तिहारमा खेलेको द्यौसीभौलोबाट उठेको पैसाबाट गाउँका गुम्बाहरुलाई आर्थिक सहयोग प्रदान गरेका छौँ । त्यस्तै, काठमाडौँमा रहेको वालुङ समुदायको गुम्बामा साउण्ड सिष्टम समेत खरिद गरिदिएका छौँ । यसरी सामाजिक कार्य गर्दा हामीहरु ज्यादै खुशी छौँ ।
भर्खरै मात्र राष्ट्रिय नाचघरमा समेत विन्दास समूहले साङ्गीतिक प्रस्तुत राख्ने अवसर पाएको थियो ।
सांस्कृतिक संस्थान (नाचघर)का महाप्रवन्धक अशोककुमार राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वालुङ समुदायको नृत्य सबैले चासोका साथ हेरेका थिए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष मा. कमला पराजुली, विन्दास समूहका सल्लाहकार दिनेशचन्द्र खनाल अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।


विन्दास समूहले आफ्नो साङ्गीतिक प्रस्तुतमार्फत हिमालपहाड र तराईलाई जोड्ने अभियान अघि बढाउने सोचाइमा रहेको सदस्य टासीडोमाले बताइन् । उनी भन्छिन्, हिमाल तराई पहाडभित्र रहेको हरेक भाषाभाषीहरुको मौलिक संस्कृति र संस्कारबारे ज्ञान हासिल गरी सामाजिक सद्भाव बाँड्ने अभियानमा हामी दत्तचित्त भएर लागेका छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हाम्रो मौलिक नृत्यलाई पु¥याउने प्रणका साथ विन्दास समूहमार्फत अघि बढिरहेका छौँ ।
विशेषगरी यस मौलिक नृत्यमा गेन्जय, हाङजुक, घोलाक(बख्खु), ओरुक, कितेन, केतिक, केलुङ, पाङेदन र खुट्टामा डोचा पोशाकको रुपमा लगाउने गरिन्छ ।
टुङ्ना बाजाका साथ यो मौलिक पहिरनमा सजिएका महिला तथा पुरुषहरूले ल्होसार र विभिन्न पर्वहरूमा रमाइलो गर्दै यो मौलिक नृत्य नाच्ने परम्परा रहेको पाइन्छ ।
वालुङ उत्थान समाजकी सदस्य समेत रहेकी टासी डोमा आफूले युवा पुस्तालाई मौलिक नृत्यतर्फ डो¥याउने अवसर पाएको खुशी व्यक्त गर्दै भन्छिन्– हाम्रो मौलिक संस्कार रहे पो हाम्रो अस्तित्व जिवन्त रहन्छ । त्यसैको लागि हामीले विन्दास समुहको परिकल्पना गरेका हौँ । विन्दास समूहलाई सुझाव, सल्लाह र मार्गनिर्देशन दिन सबैमा अनुरोध समेत गर्दछिन्, डोमा ।