विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

काठमाडौँ, ७ साउन (रासस): साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ । धर्तीको यस्तो अपूर्व सौन्दर्य देखेर बादलले प्रेमीको रूप धारण गर्छ । प्रेमरूपी वर्षा गराउन थाल्छ र हाम्रा स्वभावहरू पनि प्रकृतिअनुसार बदलिइरहेका हुन्छन् ।

साउनले हामीभित्रको प्रकृतिलाई पनि झक्झकाइरहेको हुन्छ । पूर्वीय वैदिक सभ्यतामा शिव प्रकृतिसँग जोडिएका छन् । जीवनको मूल तत्त्व भन्नु नै सत्यम्, शिवम्, सुन्दरम् हो । भगवान् शिव प्रकृति स्वरूपा हुन् । चार अक्षरले बनेको भगवान् शब्द आफैँमा प्रकृतिसँग जोडिएको छ जुन ‘भग’ र ‘आन’ मिलेर बनेको छ जसको अर्थ हुन्छः ‘भ’ को अर्थ भूमि, ‘ग’ को अर्थ गगन, ‘व’ को अर्थ वायु, ‘अ’ को अर्थ अग्नि र ‘न’ को अर्थ नीर(जल) । मानव शरीर यही पञ्च महाभूतले बनेको छ । यो पञ्च तत्त्व नै रुद्र हो । जन्मबाट मोक्षसम्म हाम्रा साथमा जे जान्छ, त्यो नै शिव हो जुनबिना प्रकृति छैन, पूजा छैन, जीवन छैन, मृत्यु पनि छैन । देवाधिदेव महादेव हाम्रा आलोक हुन्, भूमण्डल हुन् । अरू देवीदेवताको जन्मकथा प्रचलित छ तर उनी अजन्मा छन् । सृष्टिको रचनापूर्व पनि शिव नै थिए, सृष्टिको समाप्तिमा पनि उनी नै रहनेछन् । उनको अर्धनारीश्वर रूपले प्रस्ट प्रकृति (महिला) र पुरुष दुवै उनै हुन् । वैदिक मान्यतानुसार उनी अनन्त हुन्, निर्माता हुन्, संहारक हुन्, अँध्यारो हुन्, उज्यालो हुन्, आन्दोलन हुन्, शान्ति हुन् । पृथ्वीको सारा शक्ति यहवी पञ्चाक्षरी मन्त्रमा टिकेको छः ॐ नम शिवायः । ॐ शिवजीको एउटै महामन्त्र हो । ॐ शब्द अ, उ र म मिलेर बनेको छ जसको सम्बन्ध पनि प्रकृतिसँगै छ ः अ– आकार अर्थात् मस्तिष्क, उ –उकार अर्थात् उदर र म – मकार अर्थात् मोक्ष । हाम्रा सारा क्रियाकलाप त्यही शिवतत्त्वद्वारा निर्धारित हुन्छ । हाम्रा आचरण, व्यवहार, कर्म, भोगाइ सबैमा शिव छन्, लोकका नशानशा प्रवाहित छ्न् । हाम्रा लोकगाथाहरू सुरु गर्दा एकादश रुद्रको आराधना नगरी सम्पन्न हुन सक्दैन भन्ने तथ्य पूर्व अरूण उपत्यकाको सङ्कलनमा रहेको मारूनी नाच्दा बन्धन बाँधिने शशीका यी गेडाहरूले व्यक्त गर्छन् ः ‘एकै र मुखे रुद्राक्ष माला हो गला है भिराँैला सखी गला है भिरौंँला जन्तरै बाँधौँला, मन्तरै बाँधाँला जुरावन्ती नारी हो सखी शरण ’ वैदिक सभ्यताअनुसार साउन शिवको अति प्रिय महिना हो । शिवत्व भनेको तपस्या, ध्यान र चिन्तनको बाटो हो । जब हामी यस बाटालाई अँगाल्छौँ, तब हामीमा शक्ति र ऊर्जा प्राप्त हुन्छ । यसबाट हामी अभय हुन्छौँ । जब हामीभित्र ऊर्जा प्रवाहित हुन्छ, शिव नृत्य गर्न थाल्छन् । प्रकृति आफ्नो रसरागसहित लीला गर्ने हुनाले पनि शिवलाई साउन प्रिय छ । वर्षको चौथो महिनाले हामीभित्रको प्राकृतिक शक्तिलाई बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । तप, ध्यान र चिन्तनद्वारा साउनमा शिवजीसँग गरिने साक्षात्कारले हामीलाई दिव्य प्रकृति र परम तत्त्व बुझ्ने अवसर प्रदान गर्छ । साउनमा महादेवलाई जल चढाइन्छ । पौराणिक कथानुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्कियो । त्यसले सारा संसारलाई दग्ध गर्न खोजेपछि उनले त्यसलाई आफ्नो गलामा स्थापित गरे । यसरी उनको नाम नीलकण्ठ राखियो । विषको जलन रोक्न सारा देवताले गङ्गाजल चढाए । गङ्गा जलले शङ्करको जलन शान्त भए झैंँ साउनले धर्तीको जलन शान्त पार्छ । यसैले पनि साउन र शिवको गहिरो र सम्बन्ध छ । साउन महिना शिवको भक्तिको महिना हो । पुराणानुसार यो श्रावण नक्षत्र पूर्णिमामा पर्छ । त्यसैले साउनलाई श्रावण पनि भनिएको हो । हिन्दू पञ्चाङ्गानुसार वर्षको पाँचौँ महिना साउन महिना पर्छ । यसलाई हिन्दू आस्थाको प्रतीक मानिन्छ जुन प्रत्यक्ष रूपमा धार्मिक भावना र आस्थासँग जोडिएको छ । यतिखेर हिन्दू देवीदेवताका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । प्रायः यतिखेर शाकाहार भोजन गरिन्छ, व्रत, उपवास गरिन्छ, शिव महिमाको गीत गाइन्छः ‘उनै शिवजीको उनै शिवजीको नागको माला, बाघको छाला उनै शिवजीको’ हिन्दू धर्ममा सोमबारको सधँै महत्त्व छ तर साउनको सोमबारको विशेष महत्व छ । यो सोमबार पूर्णतः शिवमा नै समर्पित छ । यतिबेला महिला, पुरुष दुवै व्रत बस्छन्, उपासना गर्छन् । विशेषगरी कुमारीहरू शिव जस्तै वर पाइयोस् भन्ने कामना गर्दै व्रत बस्छन् । सोमबारको व्रतबारे लोकमा एक कथा प्रचलित छ ः कुनै दिन शिव र पार्वती अमरावती नामक सहरको नजिकबाट जाँदै थिए । दुवै आराम गर्न एउटा मन्दिरमा रोकिए र समय बिताउनलाई खेल खेल्न थाले । खेलका क्रममा पार्वतीले पुजारीलाई कसले जित्छ भनेर भविष्यवाणी गर्न आग्रह गरिन् । पुजारी शिवको भक्त थियो । उसले सोचविचार नगरी आँखा चिम्लिएर शिवले जित्ने ठोकुवा ग¥यो । पछि पार्वतीले खेल जितिन् । उमाले उसको लापरबाहीका निम्ति कोढी हुनु परोस् भन्ने श्राप दिइन् । पुजारीलाई धेरै समयसम्म कोढी भएर बस्नु प¥यो । एक दिन स्वर्गबाट आएका परीहरूले उसलाई सोमबारको व्रत लिने सल्लाह दिए । व्रतपश्चात् ऊ पूर्ण रूपमा स्वस्थ भयो । सो घटनाको बेहोरा टाढाटाढासम्म फैलियो । त्यही दिनदेखि सो व्रतलाई प्रभावशाली मान्न थालियो । यसैले पनि साउनको सोमबारको विशेष महत्त्व छ । शिवरात्रि भन्ने बित्तिकै हाम्रो मानसपटलमा फागुनको महाशिवराशि आउँछ तर एक वर्षमा बाह्र शिवरात्रि पर्छ । त्यसमध्ये एउटा साउनको शिवरात्रि हो । यो शिवरात्री श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्छ । यस दिनलाई विशेष महत्त्वको मानिन्छ । यही दिन काँवर यात्रीहरूले बोल बमका नारा घन्काउँदै शिवालयमामा जलले अभिषेक गर्छन् । शिव कल्याणकारी हुन् । उनी मात्र एक लोटा जलले पनि प्रसन्न हुन्छन् तर पनि साउनमा महादेवको पूजाको दौरान भक्तजनहरूले बेलपत्रसँगै बेलको फूल पनि चढाउँछन् । भनिन्छ यो फूल शिवको प्रिय फूल हो । यो फूल चढाउनाले पतिपत्नीबीचको सम्बन्ध गाढा हुनाका साथै सन्तान प्राप्तिको आशीर्वाद मिल्छ भन्ने लोकविश्वास छ । यो महिना उनलाई भाङ पनि चढाइन्छ । पुराणको कथानुसार विष पान गरेपछि उनको डाह शान्त पार्ने जडिबुटीमा भाङ पनि सामेल गरिएको थियो । उनको अर्को प्रिय फूल धतुरोको फूल हो । भक्तहरूले प्रायः यो फूल पनि चढाउँछन् । महादेवलाई अभिषेक गर्दा काँचो दुध पनि चढाइन्छ । यसलाई शुद्ध र पवित्र मानिन्छ । काँचो दुध चढाउनाले भक्तको मनोकामना पूर्ण हुन्छ भन्ने लोकविश्वास छ । शिवको पूजाका दौरानमा शिवलिङ्गमा मह पनि चढाइन्छ । यसो गर्नाले सबै पाप हट्नाका साथै व्यक्तिलाई मोक्ष प्राप्त हुन्छ भन्ने कथा प्रचलित छ । पूजा गर्दा ज्यादाजसो यस्ता मन्त्र जपिन्छः ‘ॐ त्रयम्बकं यजामहे सुगन्धित पुष्टि वर्धनमं । उर्वारुकमिव बन्धनाम् मृत्योमुक्षीय मामृतत । कर्पुर गौरं करुणावतारं, संसार सारं भुजगेन्द्रहारं सदा वसतं हृदयारविंदे, भवं भवानीसहितं नमामी ।’ शङ्करको प्रिय साउनमा धार्मिक आस्थासँग जोडिएका ऋषितर्पणी (जनैपूर्णिमा), गाईजात्रा, हरिशयनी एकादशी आदि पनि पर्छन् । यो महिना किसानका निम्ति पनि महत्त्वपूर्ण मानिन्छ । यतिखेर बर्सिएको वर्षा बालीनालीका निम्ति अमृत समान हुन्छ । ग्रीष्मको भीषण तापले सुकेका ताल, तलाउ, पानीका मुहानमा पनि यतिखेर नवजीवन सञ्चार भइरहेको हुन्छ । यी सबैका पछाडि शिरमा गङ्गा बोकेका शिवले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने जनविश्वास छ । वास्तवमा साउन प्रकृति, ईश्वरसँग जोडिने र शिवभक्तिका निम्ति उत्तम महिना हो । शिव हाम्रा आदिदेव हुन् । उनको स्मरणले मात्र पनि हाम्रा दुःखहरू टाढा भाग्छन्। ॐ नम शिवायः । (लेखक नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ)

  • Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-