दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा शुक्रबार दिउसो ०५:३० बजेको समयमा बिल विजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको भारतीय नम्बर प्लेटको एउटा माल बाहक पिकअप तथा एउटा मालबाहक मिनी ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

उक्त दिन ICP बाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 22 GA 4916 नम्बरको पिक अप र ना. ४ ख ९८७ नम्बरको मिनी ट्कलाई वीरगञ्ज महानगरपालिका वडा नं. २५, चण्डाल चोकस्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजकभन्दा बढीका किताब तथा विभिन्न किसिमका लत्ताकपडाहरू रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. १ करोड ४२ लाख ७८ हजार १ सय २० बराबरको किताब तथा कपडाहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताएका छन् ।