दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ फागुन । वडा प्रहरी कार्यालय, श्रीपुरले मंगलबार बिबाह सम्बन्धी कसुरमा बेहुला सहित पाँच जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. २४ स्थित रामगढवामा बारा जिल्लाको कलैया उप महानगरपालिका वडा नं. ०४ बस्ने वर्ष २८ को उमेश साह गोढको विवाहको लागि जन्ती आएकोमा सामाजिक परम्परा अनुसार विवाह भैरहेको अवस्थामा मंगलबार राती करिब ०२:०० बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहनाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरू संग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचना प्राप्त हुनासाथ त्यहाँ बाट प्रहरी टोली खटि गई उक्त विवाह रद्ध गर्ने बारा जिल्लाको कलैया उप महानगरपालिका वडा नं. ०४ बस्ने क्रमशः वर्ष २८ को उमेश साह गोढ (बेहुला), वर्ष ६० को बच्चालाल साह गोढ (बेहुलाको बुवा), बर्ष ४२ को राकेश कुमार साह (बेहुलाको दाई), वर्ष ४० को मुकेश कुमार साह (बेहुलाको दाई) तथा बारा जिल्ला कै परवानीपुर गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ४५ को रामएकवाल साह (बेहुलाको भिनाजु) लाई पक्राउ गरी निजहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।

यसै गरी बेहुली पक्षको नाम गोप्य राखिएको व्यहोरा समेत जानकारी गराइएको छ ।